उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता, २५ जनाभन्दा बढी हुल बाँधेर जान नपाइने

काठमाडौं । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ ।निर्वाचन आयोगले बारा २, चितवन २ र तनहुँ १ मा हुने उपनिर्वाचनका लागि आज बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयनपत्र दर्ताको समय तोकेको हो । उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न जाँदा २५ जनाभन्दा बढी सहभागी हुन नहुने लगायत १० बुँदे निर्दैेशन जारी गरेको छ । उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरीतका ब्यानर, चिह्न र झण्डासहित जान नहुने, उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिह्न, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने निर्देशन दिइएको छ ।

उम्मेदवारी मनोनयन प्रक्रियालाई सौहार्दपूर्ण बनाउन दलहरुलाई निर्वाचन कार्यालय जाने समय अलगअलग तोकिएको छ ।चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने र सोही दिन उजुरीउपर जाँचबुझ गरी २२ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा चैत २३ गते दिउँसो १ बजेभित्र लिइसक्नुपर्नेछ भने सोही दिन तीन बजेभित्र अन्तिम नामावली प्रकाशन हुनेछ । आयोगले चैत २३ गते नै साँझ पाँच बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।

तनहुँ–१ मा उम्मेदवारी दर्ताका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ । उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन जिल्लास्थित राजनीतिक दलको समन्वयमा छुट्टाछुट्टै समय निर्धारण गरिएको हो । एकैपटक सबै दल आउँदा भीडभाड हुने र उम्मेदवारी दर्ता कार्यक्रम अस्तव्यस्त हुने भएकाले दलको समन्वयमा समय निर्धारण गरिएको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । नेपाली कांग्रेसलाई मध्यान्ह १२ बजे, नेकपा ९एमाले० लाई विहान ११ बजे, नेकपा ९माओवादी केन्द्र० लाई दिउँसो २ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० लार्ई दिउँसो १ बजे र नेकपा ९एकीकृत समाजवादी० लाई दिउँसो १ः३० को समय निर्धारण गरिएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा लगायत दलले उम्मेदवार तोकिसकेका छन् । एमालेले चितवन–२ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाललाई टिकट दिएको छ, बारा–२ मा भने उम्मेदवार टुंगो लगाएको छैन ।रास्वपाले चितवन–२ मा सभापति रवि लामिछाने, बारा–२ मा पूर्व डीआईजी रमेश खरेल र तनहुँ– १ मा स्वर्णिम वाग्लेलाई टिकट दिएको छ ।राप्रपाले चितवन– २ मा जीवलाल पुरी, बारा– २ मा सोनेलाल साह र तनहुँ– १ मा शोभा गुरुङलाई उम्मेदवार बनाएको छ ।चितवन–२ र तनहुँ–१ मा कांग्रेसलाई समर्थन गरेको माओवादीले बारा– २ मा जसपा उम्मेदवारलाई समर्थन गर्नेछ ।