अङ्गदानबारे जनचेतना फैलाउनुपर्ने

मानिसको मृत्यु भएपछि अङ्गदान गर्नुपर्ने कुरामा जनचेतना फैलाउन आवश्यक रहेको बताइएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र स्वास्थ्य पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा अङ्गदान गर्नेबारे सचेतना फैलाउन सके धेरै मानिसलाई मृत्युवरणबाट जोगाउने सकिने बताइएको हो । केन्द्रका निर्देशक डा पुकार श्रेष्ठले एक जना मृतक मानिसबाट आठ जनालाई मृत्युवरणबाट जोगाउन सकिने बताउनुभयो ।

उहाँले अङ्गदान गर्नेबारे धेरै मानिसलाई जागरुक बनाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार मिर्गौला दुई, फोक्सो दुई, मुटु, कलेजो, प्यान्क्रियाज र सानो आन्द्रा अङ्ग प्रत्यारोपण गरेर मानिसको ज्यान बचाउन सकिन्छ । “अङ्गदान गर्नुपर्दछ भनेर सबैलाई जनचेतना फैलाउनु आवश्यक छ”, उहाँले भन्नुभयो, “जनचेतनाको अभावले मानिसले अङ्गदान गर्न डराइरहेका छन् ।” केन्द्रका निर्देशक डा श्रेष्ठले अङ्गदान गर्ने जटिल प्रक्रियालाई पनि सहज बनाउनुपर्ने बताउनुभयो । “अङ्गदान गर्छु भनेपछि झिक्नका लागि प्रहरीको सहमति चाहिन्छ । जाँचबुझ समितिले सहमति जनाएपछि मात्र अङ्ग झिक्न मिल्छ” उहाँले भन्नुभयो, “अङ्ग झिक्ने प्रक्रियालाई सहज बनाउनुपर्दछ ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाले मृत्युपछि अङ्गदान गर्ने कुरा सर्वसाधारणका लागि सजिलो नभएकाले जनचेतना फैलाउनुपर्ने बताउनुभयो ।

उहाँले मन्त्रालयले पछिल्ला वर्ष धेरैमा अङ्गदानलाई प्राथमिकतामा राखेको भन्दै मान्छेमा मस्तिष्क मृत्यु भएपछि अङ्ग दिनुपर्छ भन्ने कुरा विस्तारै कार्यान्वयनमा आउने बताउनुभयो । फोरेन्सिकविज्ञ डा हरिहर वस्तीले मृत्युको मुखमा रहेका व्यक्तिको अङ्गदान गर्न सकिने हो भने धेरै मानिसलाई बचाउन सकिने बताउनुभयो । उहाँले अङ्गदानसम्बन्धी भएको कानून कार्यान्वयन गरेर ‘अङ्गदान जीवनदान’ हो भन्ने कुराको प्रचारप्रसार गर्नुपर्ने भनाइ राख्नुभयो । जनस्वास्थ्यविद् डा तीर्थराज बुर्लाकोटीले समन्वयको अभावले कतिपय मानिसले अङ्गदान गर्न नसकेको भन्दै अङ्गदान संयन्त्र बनाउनुपर्ने बताउनुभयो । उहाँले धेरै मानिस अङ्गदान गर्न इच्छुक भए पनि कहाँ कसरी गर्ने भन्ने थाहा नभएको बताउनुभयो ।

वरिष्ठ न्यूरोसर्जन डा वसन्त पन्तले चालक अनुमति पत्र लिँदा नै अङ्गदानकर्ता हो भनेर उल्लेख गर्नुपर्ने बताउनुभयो । “विदेशमा चालक अनुमतिपत्र लिँदा नै अङ्गदान गर्ने कि नगर्ने भनेर उल्लेख गरिएको हुन्छ”, उहाँले भन्नुभयो, “नेपालमा पनि अङ्गदान गर्ने कि नगर्ने भनेर चालक अनुमति पत्रमा नै उल्लेख गर्नुपर्दछ ।” उहाँले मस्तिष्क मृत्यु भएका मानिसबाट छिटो अङ्ग निकाल्नुपर्ने बताउनुभयो । राष्ट्रिय ट्रमा सेन्टरका डा रुद्र मरासिनीले अङ्गदान गर्नेबारेमा आवश्यक कानूनलाई संशोधन गरेर सबैलाई अङ्गदान गर्ने वातावरण बताउनुपर्ने बताउनुभयो ।

उहाँले सरकारको लगानी भएका प्रतिष्ठानलाई अङ्ग प्रत्यारोपण गर्न दिनुपर्ने भनाइ राख्नुभयो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा रमेश भण्डारीले अङ्ग प्रत्यारोपणका लागि सबैको समन्वय हुनुपर्ने बताउनुभयो । केन्द्रका वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा कल्पना श्रेष्ठले सात सय ७० मिर्गौला र २५ जना कलेजो प्रत्यारोपणका लागि तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले अङ्ग दानदाताले अङ्गदान गरेको खण्डमा ती बिरामीलाई मिर्गौला तथा कलेजो प्रत्यारोपण गर्न सकिने बताउनुभयो । उहाँका अनुसार दुई हजार सात सय जनाले अङ्गदान दिने घोषणा गरिसकेको जानकारी दिनुभयो । केन्द्रका निर्देशक डा श्रेष्ठले प्रत्येक मिनेटमा अङ्गको गुणस्तर खस्किने भएकोले मृत शरीरबाट चाँडो निकाल्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार निकालेको अङ्गलाई ढिलो प्रत्यारोपण गर्दा भने फरक नपर्ने बताउनुभयो । मुटु र फोक्सो चारदेखि छ घण्टा, कलेजो १० घण्टा, मिर्गौला ३६ घण्टामा प्रत्यारोपण गरिसक्नुपर्दछ । ललितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक सिद्धिबहादुर शाहले प्रचारप्रसारको कमीले नै मानिसले अङ्गदान नगरेको बताउनुभयो । उहाँले अब आफूले प्रहरीभित्र पनि अङ्गदान गर्नुपर्छ भनेर तालिम दिने र छलफल गर्ने बताउनुभयो ।