वर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबरहरु

 

वर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबरहरु

रमेश खरेल र सर्वेन्द्र खनालले पाएको टिकटको मूल्य कति ?

वैशाख १० गते तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदै छ । तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेकाले उपनिर्वाचन हुन लागेको हो । चितवन २ बाट निर्वाचित रवि लामिछानेले नागरिकता विवादमा सांसद पद गुमाएकाले त्यहाँ पनि पुनः मतदान हुन लागेको हो । तीमध्ये बारा २ मा यसअघि विभिन्न क्षेत्रमा पराजित भएकाहरुले प्रतिस्पर्धा गर्न लागेका छन् ।

चुनाव उम्मेदवारहरूको आकांक्षाको अनुमोदन मात्र होइन, नागरिकहरूको स्वीकारको अभिव्यक्ति पनि हो । निर्वाचनमार्फत् मतदाताले आफूले इच्छाएको व्यक्तिलाई अनुमोदन गर्छन्, जिम्मेवारीमा पठाउँछन् । निर्वाचित हुन नसकेकाहरूले पाँच वर्ष पर्खनुपर्छ । जनताले औँल्याएका कमजोरी सुधार्नुपर्छ । कार्यकर्ताका कुरा सुन्नुपर्छ । आफूमा नभएका नेतृत्व गुण हासिल गर्ने प्रयत्न गर्नुपर्छ ।

https://barnanmedia.com/detail/1680390511-l-ll-e-l-nr-23-04-02

नयाँ अर्थमन्त्री आएपछि सेयरबजारले कुन बाटो समाउला ?

केही सातादेखि सेयर बजारका लगानीकर्ताले सरकार विस्तारलाई चासोपूर्वक हेरिरहेका थिए । यसअघि एमालेका विष्णु पौडेल अर्थमन्त्री बनेपछि लगातार उकालो लागेको सेयर बजार परिसूचक (नेप्से) उनको बहिर्गमनसँगै निरन्तर ओरालो यात्रामा छ । १९०० अंकको स्तरबाट उकालो लाग्न बारम्बार कोसिस गर्दा पनि सेयर परिसूचक बढ्न सकिरहेको छैन । प्राविधिक सूचकहरूले अझै १८०० अंकसम्म झर्न सक्ने देखाएका छन् ।

https://barnanmedia.com/detail/1680389256-a-aae-bl-b-ul-r2-23-04-02

रास्वपालाई उपचुनावमा गठबन्धनको डर !

तनहुँ, चितवन र बारामा उपचुनावका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । वैशाख १० मा हुने उपचुनावका लागि कुल ३ लाख ५३ हजार ५ सय ४८ जनाले मतदान गर्न पाउने छन् । उपचुनावको तापले सबैलाई छोएको छ । चर्चित व्यक्तिहरु चुनावी मैदानमा उत्रेकाले पनि यसको सबैतिर चासो भएको हो ।

रास्वपाका सभापति रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका नेता राजेन्द्र महतो, कांग्रेस छाडेका डा स्वर्णिम वाग्ले, पूर्वआईजीपी सर्वेन्द्र खनाल र पूर्वडीआइजी रमेश खरेल चुनावी मैदानमा भएकाले पनि कसले बाजी मार्ने हो भन्ने चासो बढेको हो ।यो उपचुनावमा उनीहरुको त परीक्षा हुने नै भयो त्यो अलावा नेपाली कांग्रेस र नेकपा एमालेजस्ता ठूला पार्टीको पनि सामर्थ्यको परीक्षा हुनेछ ।

प्रतिनिधिसभाको बैठक आज

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ.व. २०७८/०७९)” पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

हेटौंडा–कुलेखानी–काठमाडौं सडक मर्मतका लागि बन्द

 हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौं प्रवेश गर्ने छोटो दूरीका दुई सडक स्तरोन्नतिका लागि गरिएका छन् । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नतिका क्रमका बन्द गरिएका हुन् ।

थाहा नगरपालिका प्रमुख विष्णु विष्टका अनुसार सडक स्तरोन्नति एवं मर्मतकार्य जारी रहेकाले अर्को सूचना नभएसम्मका लागि सडक बन्द गरिएको छ । वडा कार्यालयका अनुसार प्रत्येक दिन बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि सडक बन्द रहने भएको छ ।

राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल बिरामी भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ।

पेट दुख्नेलगायत समस्या देखिएपछि शनिबार साँझ उनलाई अस्पताल लगिएको थियो। उनको उपचार भइरहेको छ।राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ।

शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताउनुभएको छ । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’ को वार्षिक प्रतिवेदन विमोचन कार्यक्रममा उहाँले शिक्षा समग्र चिजको आर्थिक आधार एवं मूल जग हो भन्नुभयो ।

पछिल्लो समय शिक्षा श्रमबाट विमुख भएको पनि उहाँले जिकिर गर्नुभयो । मुख्यमन्त्री शर्माले भन्नुभयो, “हाम्रो शिक्षा प्रविधिमैत्री बन्न सकेन । यसबाट व्यक्तिको चरित्र निर्माण भएन । यसमा विनियोजित बजेटको समेत परिचालन सही तरिकाले हुन सकेन । तसर्थ व्यवस्थापकीय र सञ्चालन क्षमता बढाउन आवश्यक छ ।” शिक्षाको आमूल परिवर्तनका लागि तीनै तहका सरकारले नीतिगत र व्यवस्थापकीय तहबाट सुधार गर्नुपर्ने उहाँको भनाइ थियो ।

बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते

 खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार सो जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।

उपनिर्वाचनमा पनि रमेश खरेलको नतिजा पुरानै, रबि बाहेक अरुले जित्न मुस्किल

 अप्रत्यासित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा तीनवटै क्षेत्र जित्ने सम्भावना
गठन भएको पाँच महिनामै राष्ट्रिय पार्टी बनेर चक्मा दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखमा हुने उपनिर्वाचनमा क्लिन स्वीप गर्ने रणनीति अपनाएको छ ।

पूर्वसञ्चारकर्मी रवी लामिछाने नेतृत्वको यो दलले १० वैशाखमा हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ । सभापति रवि लामिछाने चितवन २ बाट लड्दैछन् भने कांग्रेस छाडेर हालै मात्र पार्टी प्रवेश गरेका अर्थशास्त्री स्वर्णिम वाग्ले तनहुँ १ बाट चुनाव भिड्ने भएका छन् । त्यस्तै, पूर्वडीआईजी रमेश खरेल बारा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् ।

https://barnanmedia.com/detail/1680398940-u-l-b-b-al-l-zk-23-04-02

कागतीखेतीबाट रु २० लाख आम्दानी

सूर्याेदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उहाँको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ ।

उमेरले ४५ वर्ष टेक्नुभएका उहाँले दुई बिघा क्षेत्रफलमा लगाएको कागती देखेरे सबैले प्रशंसा गर्दछन् । मोरङको पथरी शनिश्चरे–२ कालापानीमा रहेको पथरी कृषि फार्मबाट सन्तुष्ट हुनुहुन्छ उहाँ । लामो समय विदेशमा परिश्रम गर्नुभएका न्यौपाने आर्थिक अवस्था परिवर्तन नभएपछि चार वर्षअघि कृषि पेसामा फर्कनुभएको थियो । उहाँलाई कागतीले यतिबेला राम्रो प्रतिफल दिन थालेको छ ।

दुई बिघा क्षेत्रफल भाडामा लिएर कागतीखेतीसँगै नगदे बाली गर्दै आउनुभएको छ । यतिबेला उहाँको बगानमा लटरम्मै कागती फुलेका र फलेका छन् । बगानमा एक हजार दुई सय कागतीका बोट छन । फार्मले तीन जनालाई रोजगारी दिएको छ ।

‘एक वडा, एक खेलमैदान’को योजना अलपत्र

 दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारस्थित माटिकोरेमा निर्माणाधीन ‘दिक्तेल फुटबल स्टेडियम’ (रङ्गशाला)को काम अवरुद्ध हुनुको कारणसहित सम्झौताअनुसार पुनःनिर्माण सुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानलाई स्तरोन्नति गरेर रङ्गशाला बनाउने गरी आह्वान गरिएको ठेक्का आशीर्वाद–मोहन एन्ड व्यासीगाउँ–इन्द्रलक्ष्मी जेभीले लिएको छ । प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा सम्पन्न गर्ने रु दुई करोड ९६ लाख ४१ हजार चार सय ९५ ठेक्का सम्झौता भएको निर्माणाधीन रङ्गशालामा ढेड महिनादेखि ठेकेदार कम्पनीले कुनै पनि काम गरेको छैन ।

कांगेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

 नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिनुभयो ।

सुनकोसीका दीर्घरोगीलाई निःशुल्क औषधि

 सुनकोसी गाउँपालिकाले मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि वितरण गर्न थालेको छ ।

गाउँपालिकाले सुनकोसी–५ सुनखानीबाट सो कार्यको औपचारिक सुरुआत गरेको हो । गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले औषधि वितरणको शुभारम्भ गर्नुभयो ।

गाउँपालिकाले औषधि वितरणसँगै एक दिनको बृहत् स्वास्थ्य शिविर पनि आयोजना गरेको छ । काठमाडौँको ह्याम्स अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामीण समुदायलाई लक्षित गरी वडा कार्यालयको भवनमा शिविर आयोजना गरिएको थियो ।

वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर

चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु भएको छ ।

यो सँगै चितवन राष्ट्रिय निकुञ्जभित्रको ‘कोर एरिया’मा गैँडासहितका वन्यजन्तु अवलोकन गर्नका लागि सौराहा पुग्नुपर्ने बाध्यता हटेको हो । एक साता अगाडि नवलपुरको शिख्रौलीमा रहेको निकुञ्जको गिद्धेनी पोस्टबाट निकुञ्जभित्र रहेको आइसल्याण्ड जङ्गल रिसोर्टसम्मको करिब ५५ किलोमिटर लामो पर्यटनमार्गको शुभारम्भ भएसँगै देवचुली–१७ मा रहेको पिप्रहर होमस्टेबाट जङ्गल सफारीको थालिएकोे छ ।

व्यापारिक केन्द्र बन्दै मेलौली

कुनै बेला भारतमा मात्रै निर्भर रहेको तल्लोस्वराड क्षेत्र पछिल्लो समय विकासको कामले गति लिएपछि आत्मनिर्भर बन्दै गएको छ ।

तल्लोस्वराडमा मेलौली नगरपालिका सहित शिवनाथ र पञ्चेश्वर गाउँपालिका छन् । पाटन –पञ्चेश्वर सडक सञ्चालन भएसँगै विकासको कामले गति लिँदै गएपछि यहाँको मुहार फेरिन थालेको हो । सडक सञ्जाल विस्तार हँुदै गएपछि मेलौलीबजार व्यापारिक केन्द्रका रूपमा समेत विकसित हुँदै गएको छ ।

एमालेद्वारा रावलसँग वार्ता गर्न उपाध्यक्ष पौडेलको नेतृत्वमा टोली गठन

 नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई सहमतिमा ल्याउन वार्ता टोली बनाएको छ।

शनिबार बसेको सचिवालय बैठकले ३ सदस्यीय वार्ता टोली बनाएर छलफलपछि आवश्यक निर्णय लिन जिम्मेवारी दिएको छ ।
 
वार्ता टोलीको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा लेखराज भट्ट र कर्ण थापालाई दिइएको छ ।
लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता हुँदै

अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित यही चैत २३ गते बुद्ध जन्मस्थल लुम्बिनीमा पुरुष तथा महिला खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित सो प्रतियोगिताको पुरस्कार रु एक लाख ५० हजार राशि रहेको छ । शान्ति भूमि लुम्बिनीमा २१ किलोमिटर हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो ।

लुम्बिनीको मायादेवी मन्दिर, शान्ति दीपलगायतका क्षेत्रलाई मध्यभागमा पारी २१ किमी परिक्रमा गरिने जनाइएको छ । प्रतियोगिताका विजेताले पुरुषतर्फ रु एक लाख ५० हजार र महिलातर्फ रु एक लाख ५१ हजार पुरस्कार राशि राखिएको उहाँले बताउनुभयो ।

आज सुनको भाउ आज सुनको भाउ घट्दा चाँदी बढ्योचाँदी बढ्यो

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

गाउँमै स्वास्थ्य जाँच हुँदा स्थानीयलाई सहजता

गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासी खुुसी भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्रकै २३ नं वडा भए पनि यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर रहेको छ ।

गाउँमा छाला रोगका बिरामी धेरै देखिएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ बाँकेले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा औषधोपचार गर्न पाउँदा वडावासी खुसी भएको स्थानीय अगुवा अजीज बेहनाले बताउनुभयो ।

वडाको स्वास्थ्य केन्द्रमा औषधि नपाइने र नेपालगञ्ज जान टाढा पर्ने भएकाले गाउँलेले रोग लुकाएर बस्ने गरेको उहाँको भनाइ छ । साविक हिरमिनिया गाविसमा रहेको जङ्गलीपूर्वालगायतका केही गाउँलाई नेपालगञ्ज उपमहानगरपालिकामा गाभेर २३ नं वडा बनाइएको थियो ।

सांसद मञ्जु अन्सारीले आज शपथ ग्रहण गरिन्

प्रतिनिधि सभाकी समानुपातिक सांसद मञ्जु अन्सारीले आज शपथ ग्रहण गरेकी छन् ।

समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा शर्मा सांसद बनेकी हुन् । उनलाई सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित कानुन समितिको हलमा शपथ ग्रहण गराएका छन् ।

२०७९ सालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जसपाबाट बन्दसूचीको क्रमसंख्या २ मा शर्माको नाम थियो । उनी सप्तरी निवासी हुन् ।

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता

आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुहुनेछ ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वाेच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं. २ का लागि उपनिर्वाचन हुन लागेको हो ।

 पाइलट बिरामी भएपछि नेपाल एयरलाइन्सको काठमाडौं- दुबई उडान ११ घण्टा डिले

पाइलट बिरामी पछिपछि नेपाल एयरलाइन्सको काठमाडौं दुबई उडान ११ घण्टा डिले भएको छ।

शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायू सेवा निगमको आर ए२ २९ उडान नम्बरको विमानको अहिले भर्खरै ‘डोर क्लोज’ गरिएको छ । यो जहाज दुबई उड्ने क्रममा छ ।

निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार यस उडानमा तोकिएका एक पाइलटले बिरामी भएको रिर्पोटिङ गरेका थिए ।

माग सम्बोधन हुन्छ, घर फर्किनुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गर्नुभएको छ ।

अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उहाँले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो । मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग सहमति भएपछि उनीहरु गृहजिल्ला फर्कने तयारीमा छन् ।

उहाँले पीडितसँग अवस्था बुझ्दै भन्नुभयो, “तपाईंहरु ढुक्क भएर घर फर्किनुहोस् । तपाईंका माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नुपर्ने न्यूनतम समयभन्दा धेरै समय लाग्दैन ।” घर फर्किनुअघि उनीहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । वीर अस्पतालको टोलीले पीडितहरु आश्रय लिइरहेकै स्थान गुम्बा हलमा पुगी परीक्षण गरेको थियो ।

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारद्वारा प्रधानमन्त्रीलाई धन्यवाद

सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी धन्यवाद दिएका छन् ।

सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाउने विद्रोही पक्ष र राज्यपक्षका सबै पीडितलाई समान व्यवहार गरी शहीद घोषणा गरिएकामा उनीहरूले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी धन्यवाद दिएका हुन् ।

भेटका क्रममा सहभागी व्यक्तिहरूले सत्यनिरूपण तथा मेलमिलाप विधेयकमा समेत दुवै पक्षप्रति समान व्यवहारको प्रबन्ध गर्न, क्षतिपूर्ति र परिपूरणमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

राष्ट्रपतिको स्वास्थ्य अवस्था

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यमा असहज भइ अस्पतालमा भर्ना हुनु भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।”

प्रतिनिधिसभा नियमावलीको मस्यौदा प्रतिवेदन पारित गरिँदै

प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गर्ने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सभापति चित्रबहादुर केसीले उक्त मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

उक्त नियमावली मस्यौदा समितिको प्रतिवेदन दफावार छलफलपछि पारित गरिनेछ ।

नेपाल पर्यटन महोत्सव आयोजना हुने

नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै पर्यटनको नीतिगत बहस र पैरवी गर्ने उद्देश्यले नेपाल पर्यटन महोत्सव ‘नेपाल टुरिज्म फेस्टिभल २०२३’ आयोजना गरिने भएको छ ।

नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल पर्यटन प्रवद्र्धन (एनटिपी) मल्टिमिडिया ग्रुपको आयोजनामा काठमाडौँको वसन्तपुरमा आगामी वैशाख १ र २ गते महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नयाँ शिराबाट पर्यटन प्रवद्र्धन गर्नुका साथै पर्यटनको नीतिगत बहस तथा छलफल चलाउने उद्देश्यले महोत्सवको तयारी गरिएको एनटिपीका अध्यक्ष विष्णुबहादुर विश्वकर्माले बताउनुभयो ।

उहाँका अनुसार वैशाख १ गतेलाई आन्तरिक पर्यटन दिवसका रुपमा मनाउने लक्ष्यका साथ महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सव हरेक वर्ष हुनेछ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले महोत्सवका माध्यमबाट पर्यटनको नीतिगत सुधारमा सरोकारवालाको धारणासहित दीगो पर्यटन विकासका निम्ति महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटन नीतिलाई समयसापेक्ष बनाउन बहस र पैरबी गर्दै पर्यटनको नीति र योजना बनाउन महोत्सव उपयोगी हुने बताउनुभयो । महोत्सवमा विभिन्न बिदाको पर्यटन केन्द्रित दश ‘सेसन’ सञ्चालन हुनेछन् ।

मधेस सहिद लोकमार्ग निर्माण गरिने

मधेस सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले तीन सय ११ किलोमिटरको मधेस सहिद लोकमार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

जनकपुरधाममा मन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलन गरी कागजमा मात्र सीमित यो मार्ग निर्माणका लागि एलाइनमेन्ट (रुट रेखाङ्कन) सार्वजानिक गर्दै छिट्टै मन्त्रीपरिषद्बाट पारित गरेर टेण्डर प्रक्रियामा लैजाने बताउनुभयो । मन्त्री यादवले कसैले हिम्मत नगरेसम्म नहुने भएकाले आफूले मधेसको हितका लागि यो निर्माण प्रक्रिया अगाडि बढाउन लागेको दाबी गर्नुभयो ।

यमनको राजधानीमा भारी वर्षा र बाढीका कारण यातायात अवरुद्ध

यमनको राजधानी सानामा आएको भारी वर्षाका कारण शनिबार दिनभर यातायात ठप्प भएको छ ।

शुक्रबार अबेरदेखि सुरु भएको बर्षापछि बाढीको पानी साना सहरको ठूलो भागमा करिब दुई फितसम्म जम्मा भएको थियो । बर्षाका कारण बजार, घर र पसलहरू डुबानमा परेका छन् । केही मुख्य सडक र सुरुङका प्रवेशद्वारहरू बन्द गरिएका छन् । युनेस्कोको सम्पदा क्षेत्र सानाको पुरानो शहरभित्र र बाहिर शनिबार अबेरसम्म पनि अल–तहरीर स्क्वायर, बाब–अल–यमन र अल–सईलाहमा पानीको सतह घट्न सकेको छैन । स्थानीयबासिन्दाले आफ्ना सामानको उद्धार गर्ने क्रममा आफ्नो भुईंतल्ला र पसलबाट पानी र फोहोर सफा गर्न संघर्ष गरिरहेका देखिन्थे ।

उम्मेदवारी दर्ताका लागि दललाई छुट्टाछुट्टै समय

आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका सन्दर्भमा भोलि सोमबार तनहुँ–१ मा उम्मेदवारी दर्ताका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ ।

उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन जिल्लास्थित राजनीतिक दलको समन्वयमा छुट्टाछुट्टै समय निर्धारण गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ आयोजना गरेको सरोकारवालासँगको छलफलका क्रममा उम्मेदवारी दर्ता गर्न आउँदा सबै दललाई समय निर्धारण गरिएको छ । एकैपटक सबै दल आउँदा भीडभाड हुने र उम्मेदवारी दर्ता कार्यक्रम अस्तव्यस्त हुने भएकाले दलको समन्वयमा समय निर्धारण गरिएको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।

विश्वविद्यालयले सर्वसाधारणलाई सर्वसुलभ सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाञ्चल विश्वविद्यालय(पियू)ले मेडिकल कलेज सञ्चालन एवं अन्य जनमुखी कार्यक्रम ल्याएर सर्वसाधारण जनतालाई सर्वसुलभ उपचार उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।

सुन्दरहरैँचाको गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयको ११औँ दिक्षान्त समारोहलाई आज सम्बोधन गर्दै पियू कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले ऐन कानुनमा देखिएका समस्यालाई चाँडै हल गरेर स्थानीयस्तरमा मेडिकल कलेज पढ्न पाउने व्यवस्था गरिने विश्वास दिलाउनुभयो । विश्वविद्यालयले सैद्धान्तिक ज्ञान मात्र नभई जीवन उपयोगी र व्यावहारिक ज्ञानमा जोड दिनुपर्ने धारणा राख्दै उहाँले विज्ञान प्रविधिको युगमा सैद्धान्तिक सिकाइले ज्ञान आर्जन भए पनि दैनिक जीवनमा उपयोग कम हुँदै गएको उल्लेख गर्नुभयो ।