सिरियाली सैन्यस्थलमा इजरायली आक्रमण

इजरायलले शनिबार मध्यरातपछि मध्य सिरियाली प्रान्त होम्समा रहेका सैन्य स्थलमा मिसाइल आक्रमण गरेको सरकारी टिभीले जनाएको छ ।

सिरियाली हवाई प्रतिरक्षा प्रणालीले इजरायली क्षेप्यास्त्रलाई लक्ष्य भेदनबाट रोकेको पनि उक्त टिभीले जनाएको छ । सरकार समर्थक शाम एफएम रेडियोले होम्सको पश्चिमी ग्रामीण इलाकामा रहेको सैनिक शिविरमा भएको आक्रमणमा चार सैनिक घाइते भएको बताएको छ । आक्रमणबाट केही भौतिक क्षति पनि भएको छ । यद्यपि त्यसको विवरण सार्वजनिक गरिएको छैन ।

बिहीबारदेखि सिरियाली सैन्य केन्द्रमा इजरायलले गरेको यो तेस्रो आक्रमण हो । इजरायलले केही समययता सिरियाली सेना र होम्समा रहेका इरान समर्थक समूहका सैन्य स्थलमा आक्रमण गर्दै आएको छ । तीन दिनअघि इजरायली आक्रमणमा परी इरानको शक्तिशाली रिभोलस्नरी गार्डस्का एक अधिकारी मारिएका थिए ।