कागतीखेतीबाट रु २० लाख आम्दानी

काठमाडाैँ। सूर्याेदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उहाँको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ ।

उमेरले ४५ वर्ष टेक्नुभएका उहाँले दुई बिघा क्षेत्रफलमा लगाएको कागती देखेरे सबैले प्रशंसा गर्दछन् । मोरङको पथरी शनिश्चरे–२ कालापानीमा रहेको पथरी कृषि फार्मबाट सन्तुष्ट हुनुहुन्छ उहाँ । लामो समय विदेशमा परिश्रम गर्नुभएका न्यौपाने आर्थिक अवस्था परिवर्तन नभएपछि चार वर्षअघि कृषि पेसामा फर्कनुभएको थियो । उहाँलाई कागतीले यतिबेला राम्रो प्रतिफल दिन थालेको छ ।

दुई बिघा क्षेत्रफल भाडामा लिएर कागतीखेतीसँगै नगदे बाली गर्दै आउनुभएको छ । यतिबेला उहाँको बगानमा लटरम्मै कागती फुलेका र फलेका छन् । बगानमा एक हजार दुई सय कागतीका बोट छन । फार्मले तीन जनालाई रोजगारी दिएको छ ।

बजारको भाउअनुुसार फल बेच्नुपर्ने हँुदा कागतीको यकिन मूल्य भने छैन । फार्ममा दाना प्रतिगोटा रु तीन र बिरुवा प्रतिगोट रु ८० का दरले बिक्री हुँदै आएको छ । उहाँ भन्नुहुन्छ,“चार वर्षअघि रु ३२ लाख लगानीमो कागतीखेती सुरुआत गरेँ । अहिले उखु, साग, केराउ, प्याज, लसुनलगायतका नगदे बाली छन् ।”

बगानमा वार्षिक रु सात लाख दाना र १० हजारभन्दा बढीको बिरुवा उत्पादन हुने गरेको छ । कागती र बिरुवाले राम्रो उत्पादन दिन थालेपछि धेरै टाढाका कृषकले पनि खरिद गर्ने गरेका छन् । बिरुवा बिक्रीबाट रु आठ लाखसम्म आम्दानी हुने गरेको छ ।

कागतीको दाना र बिरुवाबाट वार्षिक रु २० लाखमाथि आम्दानी हुने गरेकोे कृषक न्यौपाने बताउनुहुन्छ । कागतीका बोट हुर्किँदै जाँदा क्याङ्गस र फङ्मसजस्ता रोगले निकै सताउने गरेको उहाँले बताउनुभयो । कृषि प्राविधिकिसमेत रहनुभएका न्यौपाने रोगले सताएमा बोटले राम्रो उत्पादन दिन नसक्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ , “ग्रामीण भेगका यस्ता फार्मले राज्यबाट अनुदान पाउन निकै झन्झट ब्यहोर्नुपरेको छ ।”