देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा

देवदह नगरपालिकामा कृषिउपज सङ्कलन तथा सेवा केन्द्र सञ्चालनमा आएको छ ।

उक्त सेवा केन्द्रको आज लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उद्घाटन गर्नुभयो । उक्त केन्द्र देवदहस्थित निर्माण बहुउद्देशीय सहकारी संस्थाले निर्माण गरेर सञ्चालनमा ल्याएको हो । सो अवसरमा सभामुख मगरले सहकारीहरु सहकारीको स्थापित मान्यताबाट विमुख हुन नहुने उल्लेख गर्नुुभयो । उहाँले केही सहकारीका व्यवस्थापकमाथि आर्थिक हिनामिनाको आरोप लागेको प्रसङ्ग उल्लेख गर्दै जनताको लगानीको सुरक्षा र सामूहिक उत्पादनमा सहकारीले जोड दिनुपर्ने बताउनुभयो । देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले नगरपालिकाले कृषि उत्पादन र बजारीकरणमा ध्यान दिइरहेको बताउनुभयो ।

नगरपालिकामा शीतभण्डार निर्माणका क्रममा रहेको र उत्पादन बढाउन तथा त्यसलाई सुरक्षित राखेर बजारमा पु¥याउन यसबाट मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । देवदहको उत्पादन बिक्री गर्न निर्माण गरिएको कोशेली घर पनि चाँडै सञ्चालनमा आउन लागेको उल्लेख गर्नुभयो । लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक रामप्रसाद पाण्डेले कृषिको विकासबिना देशको विकास सम्भव नहुने बताउनुभयो ।

उहाँले देशमा बहुसङ्ख्यक नागरिक कृषिमा आबद्ध रहे पनि उनीहरूले पर्याप्त आम्दानी गर्न नसकेको उल्लेख गर्दै कृषिकर्म गरेर कमाउनसक्ने तहमा यहाँका कृषकलाई उठाउनुपर्ने धारणा राख्नुभयो ।