सभामुख महराद्धारा ईदको शुभकामना ब्यक्त

इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व बकर ईदको अवसरमा सभामुख कृष्ण बहादुर महराले नेपालसहित विश्वभरका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
त्याग, समर्पण र बलिदानको पर्यायका रुपमा मनाइने बकर ईद पर्वले समस्त नेपालीमा आपसी सद्भाव, भातृत्व, त्याग, सेवा एवं सम्मानको भावना पैदा गर्ने विश्वास लिएको उनले बताए ।
उनले भने, “मुस्लिम दर्शनअनुसार मुस्लिम समुदायले यस पर्वको अवसरमा असहाय, गरिब र विपन्न परिवारलाई अनिवार्य रुपमा सहयोग गर्नुपर्ने मान्यता उदाहरणीय छ । यस्ताखाले सेवाभावका कार्यहरु हामी सबैले आत्मसाथ गर्न सके सहिष्णुता, आपसी सद्भाव र भावनात्मक एकता अझ बढेर जानेछ । हाम्रोजस्तो बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय तथा भौगोलिक विविधतायुक्त देशमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आपसी मेलमिलाप र सद्भावका साथ मिलेर बस्न सबै धर्मका यस्तै सामाजिक दर्शन र चिन्तनले प्रेरणा प्रदान गर्दछन् ।”