सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
अर्थ वाणिज्य

चितवनको विकल्प बन्दै बर्दिया: भ्रमण वर्ष लक्षित नयाँ होटल

२५-साउन-२०७६ | ०१:०१:३७ pm

मेनका चौधरी । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गर्दै बर्दियामा नयाँ रिसोर्ट होटल सञ्चालनमा आउने भएको छ । बर्दियामा पाटे बाघ, गैँडा र हात्तीहरु हेर्न देशी–विदेशी पर्यटक आउने क्रम बढेसँगै होटल र रिसोर्ट पनि धमाधम निर्माण भइरहेका छन् ।

भ्रमण वर्षलाई लक्षित गर्दै बर्दियाको मधुवन नगरपालिका–१ स्थित पत्थरबोजीमा करीब दुई बिघा क्षेत्रफलमा रिसोर्ट सञ्चालनमा आउन लागेको हो । करीब रु १० करोडको लागतमा निर्माणाधीन यस रिसोर्ट सन् २०२० को जनवरीदेखि सञ्चालनमा आउने भएको हो ।

भ्रमण वर्षलाई लक्षित गर्दै रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको युटोपियन अप्लन्स नेपाल प्रालिद्वारा निर्माण हुँदै गरेको गेरुवा रिभरसाइड रिसोर्टका प्रबन्धक कुमार खड्काले बताए । गेरुवा रिभरसाइट रिसोर्ट बर्दिया राष्ट्रिय निकुञ्ज र खाता कोरिडोर पनि नजिकै पर्ने भएकाले आगन्तुकको रोजाइमा रहने खड्काले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज स्थानमा निर्माण कार्य तीव्र गतिमा भइरहको छ । भ्रमण वर्षलाई लक्षित गरेर नै यस क्षेत्रमा होटल र रिसोर्टहरु निर्माण कार्यहरु यस क्षेत्रमा भइरहेका छन् । बर्दिया निकुञ्ज र आसपासका दर्जन बढी पर्यटकीय गन्तव्यले पर्यटक लोभ्याइरहेका हुन्छन् । पाटे बाघ अवलोकनका लागि यस निकुञ्जलाई देशमा मात्र होइन, विश्वमा नै प्रसिद्ध मानिन्छ । यस क्षेत्रमा थारु बाहुल्य रहेकाले यस संरक्षित क्षेत्रभन्दा बाहिर थारु संस्कृतिको सम्पूर्ण झल्को समेत देख्न पाइन्छ ।

निकुञ्ज र आसपासका क्षेत्रमा पाटे बाघसँगै एकसिङ्गे गैँडा र हात्तीहरु दैनिकजसो देखिन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया पर्ने गरेको छ । निर्माणाधीन होटलमा स्थानीय परिकार साथै थारु खानाका परिकारका साथ टेन्ट क्याम्प्प, र्‍याफ्टिङको समेत सुविधा रहने उनले बताए ।

पाटे बाघ र हात्तीको ‘हव’ रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा आगन्तुकको सङ्ख्या बढेसँगै यस क्षेत्रमा होटल निर्माण कार्यहरु हुने क्रम तीव्र रहेको छ । आगामी वर्ष नेपाल भ्रमण वर्ष पनि रहेकाले पर्यटकको सङ्ख्या बढ्ने विश्वास होटल व्यवसायी रामजी थापाको रहेको छ ।

बर्दिया विस्तारै चितवनको विकल्प हुँदै गइरहेकाले चितवनका जस्ता कङ्क्रिट भवनको सट्टा अबका दिनमा होटल तथा रिसोर्ट निर्माण हुँदा स्थानीय मौलिकता झल्किने किसिमको हुनुपर्ने थापाले बताए। उनि भन्छन, ‘‘बर्दिया घुम्न आउने पर्यटक भवन हेर्न होइन, यहाँको कला, संस्कृति र प्राकृतिक सम्पदाहरुको अवलोकन गर्न आउँछन् । चितवनको गल्ती हामीले दोहोर्‍याउन हुँदैन ।’’

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ८७ वटा वयस्क पाटे बाघ रहेको छ र बाघ हेर्न आउने ९० प्रतिशतले बाघ देख्ने गरेकाले यस क्षेत्रमा बाघ हेर्न आउने पर्यटक निरास भएर फर्किन नपर्ने होटल व्यवसायी थापाको भनाइ छ । थारु संस्कृति पनि पर्यटक आकर्षण गर्ने अर्को यहाँको सम्पदा भएकाले त्यसको संरक्षण र बजारीकरण गर्न सक्नु पर्ने सम्बद्ध पर्यटन व्यवसायीहरुको धारणा छ ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार