उठीबासको त्रासमा मरिक र सदा परिवार

सप्तरी, १५ चैत (रासस) : नेपालको संविधान २०७२ ले मौलिक हकअन्तर्गत भूमिहीन दलित समुदायलाई कानूनबमोजिम एक पटकका लागि जमिन उपलब्ध गराइने र आवासविहीनलाई आवासको सुनिश्चिता गरेको छ । संविधानमा भएको त्यो व्यवस्थाअनुसार सरकारले कतिपय ठाउँका भूमिहीन दलित समुदायलाई जग्गाधनी पुर्जासमेत वितरण गर्न थालेको छ । तर सप्तरीका कतिपय ठाउँमा भूमिहीन हरुवाचरुवा परिवार जग्गा उपलब्ध गराउनुको साटो वर्षांैदेखि भोगचलन गर्दै आएको ऐलानी जग्गाबाटसमेत उठीबास हुने त्रासमा छन् । आफ्नो स्वामित्व जग्गा नभएपछि पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएको सप्तरीको शम्भुनाथ नगरपालिका–२ कनकपट्टीका लटराहा मरिकको परिवार यतिबेला ठूलो त्रासमा छ । तीन घरपरिवार मरिक बसोबास गरिरहेको बस्ती नजिकै पश्चिमपट्टि स्थानीय छेदी चौधरीको स्वामित्वको जग्गा पर्छ ।

आफ्नो जग्गासम्म पुग्न बाटो चाहियो भन्दै चौधरीले मरिक परिवार बसिरहेको ऐलानी जग्गा खाली गराउन खोजेपछि मरिकले ठूलो चिन्तामा डुबेको बताउनुभयो । “वर्षांैदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा गर्दै आएका छौँ”, मरिकले भन्नुभयो, “अहिले आएर बाटोका लागि जग्गा खाली गर्नुप¥योे भन्दै चौधरीले धम्की दिन थाल्नुभएको छ, बनाउन लागिएको घरसमेत बनाउन दिनुभएको छैन ।” अब यहाँबाट विस्थापित नै हुने हो कि भन्ने चिन्तामा डुबेको उहाँको दुःखेसो छ । “आफूहरूसँग नम्बरी जग्गा छैन, त्यसैले सडक छेउको ऐलानी जग्गामा फुसको छाप्रो बनाई बस्दै आएका छौँ”, मरिकले भन्नुभयो, “अहिले आएर चौधरीले आफ्नो जग्गासम्म पुग्न बाटो चाहियो, सो ठाउँ खाली गर्नुप¥यो भन्दै खाली गराउन खोजेपछि भोक र निद्रा नै हराएको छ ।” अहिले त्यही त्रासका कारण भोक पनि नलागको र निद्रा पनि हराइसकेको उहाँको भनाइ छ । “मेरो हजुरबुबा पनि यही जग्गामा घर बनाएर जीवन बिताउनुभयो, बुबाले पनि सोही जग्गालाई आफ्नो बासस्थान बनाउनुभयो”, ६५ वर्षीय मरिकले भन्नुभयो, “हामी पनि यही जग्गामा थातथलो बनाएर बसिरहेका छौँै, तर अहिले अचानक आएर चौधरीले जग्गा खाली गराउन अघि बढ्ेपछि परिवार नै उठीबासमा पर्ने चिन्तामा छौँ ।” चौधरीको अवरोधकै कारण आफूहरूको नाममा दुई वर्षअघि नै बन्नुपर्ने जनता आवास भवनसमेत अहिलेसम्म नबनेको उहाँको दुःखेसो छ । “जनता आवासको लाभग्राही सूचीमा हाम्रो नाम छ”, स्थानीय किसन मरिकले भन्नुभयो, “जनता आवास भवन बनाउन दुई वर्षअघि एक ट्र्याक्टर इँटासमेत आएको थियो, तर चौधरीले त्यहाँ घर बनाउन हुँदैन भनेर अवरोध गरेपछि त्यो इँटा पनि फिर्ता लगिएको थियो ।

” त्यसयता त्यहाँ घर बनाउन दिइएको छैन । “त्यसैले तनावमा छौँ”, उहाँले भन्नुभयो । आफूहरू समस्यामा पर्दा सहयोग गर्नुपर्नेमा वडा नं २ का वडाअध्यक्ष दुर्गानन्द भगत पनि चौधरीकै पक्षमा उभिएको मरिक परिवारको भनाइ छ । जग्गाधनी चौधरी र वडाअध्यक्ष भगत एउटै पार्टीका नेता भएकाले उनीहरूले परिवारलाई नै जग्गाबाट विस्थापित गर्न खोजिरहेको मरिक परिवारको गुनासो छ । “योे जग्गामा कहिलेदेखि हजुरबुबा बस्नुभयो भन्ने नै हामीलाई नै थाहा छैन्”, किसन मरिकले भन्नुभयो, “तर जग्गा खाली गराउन खोजेपछि चिन्ताले निद्रा लाग्न छाडिसक्यो, जग्गा छोड्नु परे कहाँ जाने र के खाने भन्ने चिन्तामा परेका छौँ ।” पुस्तौँदेखि सोही जग्गामा बसेको र मजदुरी गरेको भन्दै अर्का बिसुन मरिकले कहिले पनि कसैले ‘यो जग्गा मेरो हो’ नभनेको बताउनुभयो । स्थानीय बिसुन मरिकले भन्नुभयो, “अहिले अचानक जग्गा खालीका लागि धम्की आउन थालेपछि लालाबालासहित कहाँ जाने भन्ने चिन्तामा डुबेका छौँं ।” विस्थापित हुनबाट जोगाइ दिन सबैसँग उहाँले अपिलसमेत गर्नुभएको छ । आर्थिकरूपमा विपन्न मरिक परिवारसँग आफ्नो जग्गा नहँुदा गाउँ नजिकैको सडक छेउमा घर बनाएर बस्दै आएका छन् । पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गा खाली नगर्ने लटराहा मरिकको अडान छ ।

“हामी घर हटाउँदैनौँ, अन्तिमसम्म हामी पनि लड्छौँ, हामीलाई यसमा सबैको सहयोग चाहिएको छ”, उहाँले भन्नुभयो । यता वडाअध्यक्ष भगतले मरिक परिवारलाई आफूले कुनै किसिमको दबाब नदिएको बताउनुभएको छ । “मैले कुनै दबाब दिएको छैन”, उहाँले भन्नुभयो, “जसको जग्गा हो उहाँले घर बनाउन दिनुभएको छैन, त्यसमा मेरो कुनै किसिमको भूमिका छैन ।” तर मरिक परिवारसँग बाटो बनाउन दिनुपर्ने मात्र भनेको उहाँको भनाइ छ । यस्तै पुस्ताँैदेखि सडक छेउमा रहेको ऐलानी जग्गामा आफ्ना लालाबालासँगै गुजारा चलाउँदै आएको सप्तरीको शम्भुनाथ नगरपालिका–७ भगवतपुरका नागेन्द्र सदाको परिवार पनि उठीबासको त्रासमा छ । वषाँैदेखि फुसको छाप्रो बनाएर आफ्ना चार छोराबुहारी र १५ जना नातिनातिनासँगै बस्दै आएका सदाले स्थानीय लालु सिंहले त्यहाँबाट घर हटाउन दबाब दिन थालेपछि समस्यामा परेको बताउनुभएको छ । सदा परिवार बसोबास गरिरहेको ऐलानी जग्गाकै छेउमा सिंहको करिब तीन कठ्ठा जग्गा छ । “सो जग्गामा सिंहले कित्ताकाट गरी बिक्री गर्न खोजिरहनुभएको छ”, सदाले भन्नुभयो, “त्यसैले सिंहले आफ्नो जग्गासम्म पुग्न ऐलानी जग्गाबाट बाटो चाहिन्छ भन्दै अहिले हामीलाई घर हटाउन दबाब दिइरहनुभएको छ ।” सदाका अनुसार सिंहको जग्गासम्म पुग्न दुई तिरबाट बाटो छँदैछ, तैपनि उठीबास बनाउन खोजिरहेका छन् । “परिवार सङ्ख्या बढ्दै गएकाले घरछेउमै अर्काे एउटा घर बनाउन खोज्दा सिंहले रोक्न खोज्नुभएको छ”, गाउँका साहुमहाजनकहाँ मजदुरी गरेर परिवार पाल्दै आएका गङ्गाराम सदाले भन्नुभयो, “सुरुमा सिंहले घर हटाउन दबाब दिनुभयो, नमानेपछि उहाँले नगरपालिका कार्यालय र प्रहरीमा पनि उजुरी दिनुभएको छ ।

” सिंहकै उजुरीका आधारमा प्रहरीले आफूहरूलाई नयाँ घर नबनाउनु भन्दै आएको सदाले बताउनुभयो । यसरी आर्थिक विपन्नता र सामाजिक विभेदमा परेका दलित हरुवाचरुवा परिवारलाई आवश्यक परामर्श तथा सहयोगका लागि श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले अभियान सुरु गरेको छ । द फ्रिड्म फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले दलित बस्तीका हरुवाचरुवा परिवार लक्षित व्यक्तिगत घटना दर्तासँगै सशक्तीकरणका योजनासहितको कार्यक्रम सञ्चालन गरेको केन्द्रका सहजकर्ता बिजली रामले बताउनुभयो । दलित समुदायको उठीबाससँगै शिक्षा र नागरिकताको समस्या रहेको पाइएकाले दलित समुदायका हरुवाचरुवा परिवारलाई आवश्यक परामर्श र सहयोगको कार्यक्रम सञ्चालन गरिरहेको सहजकर्ता रामको भनाइ छ ।

पुस्तौँदेखि बस्दै आएको मरिक र सदा परिवारलाई उठीबास हुन नदिन आफूहरूले पनि सहयोग गर्ने स्थानीय अगुवाहरूले समेत बताएका छन् । मुलुकको संविधान, ऐन र कानूनले पनि कसैलाई उठीबास गर्न नहुने व्यवस्था गरेको अवस्थामा हरुवाचरुवा दलित समुदायलाई उठीबास बनाउने योजनालाई आफूहरूले पनि असफल बनाउन सहयोग गर्ने स्थानीय अगुवाहरूको कथन छ । यता शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुख तथा न्यायिक समितिका प्रमुख अनिताकुमारी चौधरीले दुवै बस्तीको छेउमा स्थानीयवासीको निजी जग्गा रहेकाले समस्या भएको तर दुवै पक्षलाई बोलाएर समस्या समाधान गरिने बताउनुभयो ।