कोशी नाम स्वीकार्न चार दलको अपील

 कोशी प्रदेशका ठूला चार दलले प्रदेश नामकरणको प्रदेशसभा निर्णय स्वीकार्न अपील गरेका छन् ।

नामका विषयमा असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले आन्दोलन चर्काएपछि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले विज्ञप्ति जारी गर्दै नामकरणको निर्णयलाई स्वीकार गर्न आग्रह गरेका हुन् ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् । असन्तुष्टिको आन्दोलनका क्रममा गत चैत ५ गते घाइते भएका पदम लिम्बूको शुक्रबार मृत्यु भएको थियो । पहिचान पक्षधर दल र संस्थाले गठन गरेको ‘प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति’ ले सांसद बहिस्कार अभियान पनि सञ्चालन गरिरहेको छ ।

‘बृहत सहमतिका साथ प्रदेशको नामाकरण गर्न सफल हुनुभएकोमा प्रदेशसभा सदस्यहरुज्यूहरुलाई हार्दिक धन्यवाद तथा बधाइ व्यक्त गर्दै सर्वभौम सम्पन्न प्रदेशसभाको भारी बहुमतबाट भएको प्रदेशको नामकरणको निर्णयलाई शिरोधार्य गर्न आम प्रदेशबासीमा अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

नामकरणका विषयलाई लिएर भइरहेका गतिविधिले सामाजिक सद्भावमा खलल पुग्ने तथा असंवैधानिक गतिविधि तत्काल बन्द गरी शान्तिपूर्ण ढंगबाट आफ्नो मत र मुद्दालाई स्थापित गर्न तथा सम्वाद, वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान गर्न पनि दलहरुले अपिल गरेका छन् ।

नेकपा एमाले कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपाने, कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा, माओवादी केन्द्र कोशी प्रदेश सचिव गणेश उप्रेती र राप्रपा प्रदेश अध्यक्ष राम थापाले जारी गरेको विज्ञप्तिमा नामकरणको विषयमा कुनै असहमति वा फरक मत भए संवैधानिक प्रक्रिया मार्फत समाधान हुने भएकाले वार्तामा बस्न दुवै पक्षलाई आग्रह गरिएको छ ।

नामको विषयमा असन्तुष्टि जनाउँदै गठन भएको ‘प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति’ले प्रदेश सांसद बहिस्कार अभियान र नामाङ्कनको विरुद्ध प्रदर्शन गरिरहेको छ ।

आन्दोलनमा एक आन्दोलनकारीको मृत्यु भएपछि सरकारले गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको छ ।