आर्मीलाई हराउँदै जावलाखेल सेमिफाइनलमा

काठमाडाैँ। साताैँ संस्करणको विराट गोल्डकपमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ‘सडेनडेथ’ मा हराउँदै जवलाखेल युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रङ्गशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई ‘सडेनडेथ’ मा ६–५ गोलले पन्छाउँदै जाउलाखेल अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो ‘सडेनडेथ’बाट भएको थियो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइबे्रकरमा दुवै टोलीले ५–५ गोल गरेका थिए ।

सडेनडेथमा जाउलाखेलको तर्फबाट सिमान्त थापा, विदेशी खेलाडी फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र बिसाल तामाङले गोल गरेका थिए । आर्मीको तर्फबाट टङ्क बस्नेत, टेकबहादुर बुढाथोकी, कप्तान जिलेस्पीजङ्ग कार्की, सन्तोष केसी र गोलकिपर बिकेस कुथुले गोल गरेका थिए । सेसेहाङ आङदङबेको प्रहार बाहिरिदा दोस्रो खेलबाट आर्मी बिदा भएर घर फर्किन बाध्य भयो ।

जितसँगै जाउलाखेलले घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते पहिलो सेमिफाइनल खेल खेल्ने छ । आर्मी र जाउलाखेलले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित र अतिरिक्त समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । आर्मीले गोलका उत्कृष्ट अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै आफ्नो प्रतिस्पर्धा बिट मार्न पुग्यो । खेलको म्यान अफ द म्याच जाउलाखेलका सीमान्त थापा घोषित भए ।

उनले रु ११ हजार प्राप्त गरे । चैत १६ गतेसम्म सञ्चालन हुने गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता हुने टिमले २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार पाउने विराटनगर महानगरपालिकाका प्रमुख तथा गोल्डकपका संयोजक नागेश कोइरालाले उल्लेख गर्नुभयो । शनिबारको तेस्रो क्वाटरफाइनल खेल साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुने प्रतियोगिताका सह–संयोजक सुवाशिष कोइरालाले जानकारी दिनुभयो ।