सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको संख्या ४ लाख नाघ्यो

काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका हुन् ।

कोषले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । बागमती प्रदेशबाट सबैभन्दा बढी तीन लाख सात हजार सात सय १८ श्रमिक सूचीकृत भएका छन् । कोशी प्रदेशबाट ३८ हजार नौ सय ५७, मधेस प्रदेशबाट २१ हजार दुई सय ५८, गण्डकी प्रदेशबाट १५ हजार दुई सय ४१, लुम्बिनी प्रदेशबाट १४ हजार ९९, सुदूरपश्चिम प्रदेशबाट एक हजार पाँच सय २९ र कर्णाली प्रदेशबाट एक हजार दुई सय २८ श्रमिक सूचीकृत भएका छन् । कोषले आगामी असार मसान्तसम्म पाँच लाख श्रमिकलाई सूचीकृत गराउने लक्ष्य लिएको छ । कोषमा १७ हजार सात सय ३९ रोजगारदाता आबद्ध भएका छन् ।

कोषले हालसम्म ३० अर्ब ११ करोड रुपैयाँ योगदान संकलन गरेको छ । कोषले विभिन्न योजनाबापत योगदानकर्तालाई तीन अर्ब ८३ करोड दाबी भुक्तानी गरेको छ ।