अमेरिकी डलर र बङ्गलादेशी टाकासहित चिनियाँ नागरिक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइ लैजान लागेको अवस्थामा नौ हजार एक सय अमेरिकी डलर र २९ हजार पाँच सय बङ्गलादेशी टाकासहित आज एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलका अनुसार बङ्गलादेश एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बङ्गलादेश जान लागेका चिनियाँ नागरिक ५२ वर्षीय काई हुनानलाई विमानस्थलबाट पक्राउ गरिएको हो । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज क्षेत्रमा रहेको एक्स–रे मेसिनमा जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त डलर र टाका फेला परेपछि नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।