उपेन्द्र यादवको मूसा प्रवृत्ति, फेरि संसद छिरेर उपप्रधानमन्त्री खाने दाउ

काठमाडाैँ। नेपाली राजनीतिमा मूसा प्रवृत्ति जहिल्यै चर्चामा हुन्छ । हाल राप्रपा नेपालका अध्यक्ष रहेका कमल थापालाई नेपाली राजनीतिका मूसाका रुपमा चिनिन्छन् ।

राजतन्त्र होस् कि गणतन्त्र उनी अनेक तिगडम गरेर शक्तिमा रहिरहन्छन् । हरेक पटक मन्त्री बन्थे । यो पटक भने उनी राप्रपा छोडेर राप्रपा नेपालका अध्यक्ष बन्दा चुनाव हारे । र, संसद पुग्न पाएका छैनन् ।

ठिक त्यही प्रवृत्ति दोहोराउने अर्का पात्र हुन्, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यावद । चुनाव हारेको चार महिना नवित्दै उनी फेरि संसद छिर्ने दाउमा पुगेका छन् । ४ मंसिरमा भएको संसदीय निर्वाचनमा सप्तरी २ बाट चुनाव हारेका यादवले आफ्ना दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेका छन् ।

उनी बारा २ बाट निर्वाचित सांसद हुन् । यादव सत्ता गठबन्धनका उम्मेदवार रहेकाले उपराष्ट्रपति बन्ने पक्का छ । उम्मेदवारी दर्ता फागुन २७ गते हुँदैछ भने निर्वाचन चैत ३ गते हुनेछ ।

यसरी यादवलाई उपराष्ट्रपति बनाएर उपेन्द्र बारा २ बाट चुनाव लड्नेछन् । यसपटक भने आफूलाई चुनाव जित्न सहज हुने आकलन यादवले गरेका छन् ।

किनकी ४ मंसिरमा भएको चुनावमा यादवले गठबन्धन मात्र फेरेका थिएनन् सिके राउत चुनौती बनेका थिए । कांग्रेस नेतृत्वको गठबन्धन फेरेर उनी एमालेसँग मिल्न गएका थिए । र, दुबै गठबन्धनका उम्मेदवार पराजित हुँदा सिके उदाएका थिए ।

तर, यादवदेखि सिकेसम्म हाल एउटै गठबन्धनमा छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा यसअघि नै जनमत पार्टी छ । अब कांग्रेस, जसपा, एकीकृत समाजवादी पनि जानेछ । यसरी ९ दलको समर्थनबाट आफू चुनाव जित्ने र फेरि उपप्रधानमन्त्री बन्ने हिसाव यादवले निकालेका छन् ।