यसरी हुँदैछ ८ दलीय गठबन्धनमा सरकारको भागवण्डा

काठमाडौं । ८ दलीय गठबन्धनभित्र सरकारबारे प्याकेजमै सहमति हुने भएको छ । राष्ट्रपति निर्वाचनले मन्त्रिपरिषद् विस्तारमा विलम्ब हुने भएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार हुने बताउँछन् ।प्रधानमन्त्रीले विश्वासको मत लिएको दुई÷तीन दिनभित्र मन्त्रिपरिषद् विस्तार हुने खड्काको भनाइ थियो ।सांसदको सङ्ख्याको अनुपातमा मन्त्रालय भागबण्डाको मापदण्ड बनाउनु पर्ने पक्षमा कांग्रेस छ । गृह वा अर्थ, परराष्ट्र र स्वास्थ्यसहित १० मन्त्रालयमा कांग्रेसको दाबी छ ।

जसपा र एकीकृत समाजवादीले तीन–तीन मन्त्रालयको दाबी गरेको छलफलमा सहभागी एक नेताले बताए । लोसपाले दुई मन्त्रालयको दाबी गरेको छ भने नागरिक उन्मुक्ति पार्टी रेशम चौधरी रिहा नभएसम्म सरकारमा नजाने अडानमा छ ।राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउने प्रधानमन्त्री प्रचण्डको योजना छ । रास्वपा सरकारमा सहभागी भए तीन मन्त्रालय पाउने निश्चित छ । यसअघि पनि रास्वपा उपप्रधान तथा गृहमन्त्रीसहित तीन मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी भएको थियो ।कांग्रेस भने रास्वपालाई सरकारमा सहभागी गराउन नहुने पक्षमा देखिन्छ ।

यस विषयमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसका नेताहरूसँग पनि छलफल गरेको पाइएको छ । पछिल्लो समय रवि लामिछाने र प्रधानमन्त्री प्रचण्डबीच सरकारमा सहभागिता र रविको राहदानी मुद्दाबारे छलफल भइरहेको बालुवाटार स्रोतको दाबी छ ।माघ २२ मा सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । संवैधानिक परिषदमा प्रधानमन्त्री अल्पमतमा रहेको अवस्था छ ।