पुस्तकालयद्वारा विकट गाउँमा निःशुल्क पशु स्वास्थ्य शिविर

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ मा अवस्थित विकट गाउँ खोर्दीमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

मातृभूमि सामुदायिक पुस्तकालय विर्घाको आयोजना तथा शान्ति भोलेन्टियर एसोसिएसन, रिड नेपाल र पशु सेवा शाखा कालीगण्डकी गाउँपालिकाको प्राविधिक सहयोगमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेयले बताउनुभयो । पुस्तकालयको कार्यक्षेत्रभित्र सबैभन्दा विकटमा रहेको खोर्दीमा प्राविधिक ज्ञान सेवा कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गरिएको अध्यक्ष पाण्डेयले बताउनुभयो ।

“मुख्य गरी पुस्तकालयको कार्यक्षेत्रभित्र सबैभन्दा विकटमा रहेको खोर्दी गाउँमा प्राविधिक सेवाको पहुँच कम भएकाले शिविर सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “कृषि तथा पशुपालनका लागि प्रचुर सम्भावना भएको यस गाउँमा पशुहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरी प्राविधिक सेवा उपलब्ध गराएका हौँ ।” कृषि तथा पशुपालनका दृष्टिले पकेट क्षेत्र बनाउन सकिने भएकाले यहाँका कृषकलाई पशुपालन तथा कृषि कार्यका लागि प्राविधिक ज्ञान दिने उद्देश्यसहित पुस्तकालयले शिविर सञ्चालन गरेको हो ।

“पुस्तकालयले पालिकाका सातवटै वडामा १२ वटा ‘प्राविधिक ज्ञान सेवा समूह’ गठन गरेको छ”, उहाँले भन्नुभयो, “उक्त समूहले आ–आफ्नो वडा, टोल तथा घरघरका सूचना तथा समस्याहरू पुस्तकालयलाई जानकारी गराउनुहुन्छ, प्राप्त जानकारीका आधारमा पुस्तकालयले सम्बोधन गर्दै आएको छ ।” खोर्दीका स्थानीयहरूको माग नै पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने माग आएकाले औषधिसहितको प्राविधिक समूहमार्फत पशु चौपायाहरूको शिविर गरिएको हो । पशु स्वास्थ्य शिविरमा एमडिएच फर्मासिटिकल्स प्रालि काठमाडौँ, डाबर आयुर्वेदलगायतले निःशुल्क औषधि उपलब्ध गराएका थिए । पशु स्वास्थ्य शिविरमा चार सय १० पशु चौपायाको उपचार तथा औषधि वितरण गरिएको कालीगण्डकी गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख राजेश पाण्डेयले बताउनुभयो ।

६१ घरधुरीले पाल्दै आएका भैँसी एक सय ३१, बाख्रा एक सय ६४, बङ्गुर ७८, कुखुरा ३७ गरी कूल चार सय १० वटा पशुचौपाया तथा पक्षीहरूको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको शाखाप्रमुख पाण्डेयले जानकारी दिनुभयो । गोबर परीक्षण ९१, औषधि उपचार एक सय १३, आन्तरिक तथा बाह्य परजीवी उपचार एक सय ६९, पशुहरूमा बाँझोपना, भाले नखोज्ने वा पटकपटक उल्टिने समस्याको उपचारहरू गरिएको थियो । विकट गाउँमै औषधिसहित पशु प्राविधिकहरूले स्वास्थ्य उपचार गरेसँगै कृषकहरु हर्षित भएका छन् ।

पशु चौपायाहरूको उपचारका लागि फुकाएर टाढाटाढा लैजान निकै समस्या हुने गरेकामा गाउँमै शिविर आएपछि धेरै राहत भएको स्थानीयहरूले बताएका छन् ।