मनाङकी मनुद्वारा माउन्ट अकान्कागुवा आरोहण

हिमाली जिल्ला मनाङकी मनु गुरुङले माउन्ट अकान्कागुवाको सफल आरोहण गर्नुभएको छ । अर्जेन्टिनाको मन्डोजा प्रदेशमा रहेको ६ हजार नौ सय ६० मिटर अग्लो हिमाल चढ्न उहाँ फेब्रुअरी १ मा त्यसतर्फ जानुभएको थियो ।

दक्षिण अमेरिकी महादेशको यो सबैभन्दा अग्लो हिमाल हो । नासों गाउँपालिका–७ की गुरुङ लामो समयदेखि पर्वतीय पर्यटनमा आबद्ध रहेर पर्वतारोहणमा भाग लिँदै आउनुभएको छ । उहाँले यसअघि नै अन्नपूर्ण क्षेत्रको टेन्ट, चुलु पश्चिम, अन्नपूर्ण चौथो, मिरा, आइल्यान्ड, फोकाल्दे, लोबुचे र धम्पुस पिकको सफल आरोहरण गरिसक्नुभएको नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार माउन्टेन ‘वुमन अफ द वल्र्ड’ नेटवर्क नामक संस्थाले विभिन्न देशका १५ जना महिलालाई आरोहणमा सघाएको हो । आरोहणमा गएकामध्ये नौजनाले मात्रै हिमाल आरोहण गर्न सफल भएको बताइएको छ ।