रासस ६२ वर्षमा प्रवेश

काठमाडाैँ। राज्यको एकमात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) आज ६२औँ वर्षमा प्रवेश गरेको छ । निजी क्षेत्रका दुई समाचार समिति एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते रासस स्थापना भएको हो ।

‘विकासका लागि सञ्चार’ भन्ने मूल मर्मलाई आत्मसात् गरेको राससले स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्यतथ्य समाचार सङ्कलन एवं वितरण गर्दै आएको छ । विसं २०१७ फागुन ७ गते (१८ फेब्रुअरी १९६२) निजी क्षेत्रका ‘नेपाल संवाद समिति’ र ‘सगरमाथा संवाद समिति’ गाभिएर सरकारी स्वामित्वमा राष्ट्रिय संवाद समिति स्थापना भएको हो ।

‘रासस ऐन, २०१९’ जारी भएपछि राष्ट्रिय समाचार समिति एउटा अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाका रूपमा क्रियाशील छ । राससका संस्थापक रामराज पौड्याल हुनुहुन्थ्यो । उहाँका अध्यक्षतामा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा संवाद समितिका मणिन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य हुनुहुन्थ्यो ।

राससले हाल मुलुकको सङ्घीय संरचनाअनुकूल सातै प्रदेशमा कार्यालय स्थापना गरेको छ । बागमती र कर्णाली प्रदेशमा बाहेक सबै प्रदेशमा राससका आफ्नै कार्यालय तथा अन्य जिल्ला कार्यालय भवन छन् । यसले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइनजस्ता आमसञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ देखि राति ११ बजेसम्म न्यूजलाइनमार्फत निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ ।

राससले गत साउन १ गतेदेखि ‘श्रव्यदृश्य’ सेवा पनि सुरु गरेको छ । राससले नेपाली, अङ्ग्रेजी, अन्तर्राष्ट्रिय समाचार, आलेख, श्रव्य, तस्वीरलगायत सामग्रीमार्फत सेवा प्रदान गर्दै आएको छ । आधिकारिक, विश्वसनीय, सन्तुलित र तथ्यपूर्ण समाचार सम्प्रेषण नै राससको मूल मन्त्र हो ।

राससले समाचार, सूचना र विचार प्रकाशन तथा प्रसारण माध्यमलाई उपलब्ध गर्ने मात्र नभई राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकतालाई अझ मजबुत बनाउन पनि अग्रणी भूमिका खेलेको छ ।