डोटीमा सडक भत्काएर ठेकेदार बेपत्ता

डोटीको शिखर नगरपालिका-१० बानेडुग्रीसैन क्षेत्रको सडक चौडा पार्ने ठेक्का लिएको निर्माण कम्पनी सडक भत्काएर बेपत्ता भएको छ ।

केआइ सिंह राजमार्गअन्तर्गत पर्ने शिखर नगरपालिकाको बानेडुग्रीसैन क्षेत्रको सडकका खाल्डाखुल्डी भर्ने, सडकमाथि एक लेयर थप गर्ने र बजार क्षेत्रमा सडक चौडा गर्ने काम गर्न सडक डिभिजन कार्यालय कुलपाते दीपायल र आशीष कन्सट्रक्सन कम्पनी कैलालीबीच विसं २०७८ कात्तिक २६ मा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार बानेडुग्रीसैन बजार क्षेत्रमा सडकको दायाँ बायाँ भत्काएर डाउन गरी लामो समयदेखि निर्माण कम्पनी सम्पर्कविहीन बनेको हो । नगरपालिका–१० बानेडुग्रीसैनका स्थानीय नरेन्द्र विष्टले सडक बनाउने भन्दै भत्काएर जाँदा समस्या उत्पन्न हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सडक चौडा गर्ने नाममा भएको सडक पनि भत्काएर झन् साँघुरो बनाइएको छ, कि त यो सडक भत्काउनु नहुने थियो र भत्काइसकेपछि बनाउनुपर्ने थियो ।” अर्का स्थानीय रमेश बलायरले पनि सडक भत्काएर दुर्घटनाको जोखिम बढाएको बताउनुभयो । “यो सडक भत्काएको एक वर्ष पूरा भयो, चौडा बनाउने भनेका थिए । तर भत्काएपछि यहाँबाट गएका उनीहरु फर्केर आएनन्, सडकको दुवैतिर भएको कालोपत्रसमेत भत्काएर गहिरो बनाइएको छ”, उहाँले भन्नुभयो । निर्माण कम्पनीका ठेकेदार सम्पर्कमा नरहेको सडक डिभिजन कार्यालय कुलपाते दीपायलका सूचना अधिकारी इञ्जिनियर रामचन्द्र जैशीले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “हामीले ठेकेदारलाई पटक–पटक फोन गर्दा पनि सम्पर्कमा आउँदैनन्, कहिलेकाहीँ फोन उठाइहाले पनि तुरुन्तै काम सुरु गर्छु भन्छन् तर आउँदैनन् ।” मध्यपहाडी लोकमार्ग आवधिक मर्मत अन्तर्गत रू चार करोड ६२ लाख ७४ हजारमा ठेक्का सम्झौता भएको सडकमा जम्मा २० प्रतिशतमात्रै भौतिक प्रगति भएको इञ्जिनियर जैशीले बताउनुभयो । हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको उहाँको भनाइ छ । सडक निर्माणको जिम्मा अर्को व्यक्तिलाई दिएकाले ढिलाइ भएको निर्माण कम्पनी आशीष कन्स्ट्रक्सन प्रालिका सञ्चालक टेकबहादुर सेठीको भनाइ छ । “मैले अर्को व्यक्तिलाई जिम्मा दिएको थिएँ, उहाँको घरमा समस्या परेकाले काम हुन सकेन”, उहाँले भन्नुभयो । उहाँ आफूले आशबहादुर गुरुङलाई सम्पूर्ण कामको जिम्मा लगाएको बताउनुभयो ।

“कम्पनीको सम्पर्क व्यक्तिका साथै ठेक्का सम्झौतालगायतको जिम्मा उहाँकै हो”, सेठीले भन्नुभयो, “काम नभएको भन्ने गुनासो आएपछि मैले पनि ताकेता गरेको छु, अब एक साताभित्रै काम सुरु हुन्छ ।” निमार्णको काम विसं २०७९ वैशाख ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो । पहिलोपटक ठेक्का सम्झौताको म्याद सकिएको भोलिपल्ट अर्थात् २०७९ वैशाख ३१ गते निर्माण कम्पनी सडक डिभिजनमा म्याद थपका लागि अनुरोध गरेको थियो ।

सडक डिभिजनले २०८० जेठ मसान्तसम्मका लागि पुनः म्याद थप गरेको छ । म्याद थप भएको नौ महिना बित्दासमेत काम सुरु भएको छैन ।