प्रविधिको विकाससँगै लोप हुँदै पानीघट्ट

गाउँघरमा कुटानीपिसानीको लागि सहज मानिने पानीघट्ट चलाउने प्रचलन हराउन थालेको छ । विभिन्न विद्युतीय सामग्री आउन थालेपछि यस्ता खालका पराम्परागत रुपमा प्रचलनमा रहेका पानीघट्ट हराउदै गएको हो ।

ओरालोमा पानीलाई झारेर पङ्खालाई घुमाएर ढुङ्गाको जातोको साहराले मकै, गहँु, कोदो, फापर लगाएतका अन्नबालीलाई पिस्ने गरिन्छ । यसबाट स्थानीयले सहज र सरलरुपमा अन्नबाली पिस्दै आएका थिए । दशकअघिसम्म स्थानीयले एउटा गाउँमा एक पानीघट्ट लगाउने चलन रहे पनि पछिल्लो समयमा यो चलन हराएको टेम्केमैयुङ गाउँपालिकाका ९५ वर्षीय वृद्ध तिलकबहादुर विष्टले बताउनुभयो ।

“विगतमा हामी गाउँ–गाउँमा पानीघट्ट लगाथ्याँै”, उहाँले भन्नुभयो, “तर अहिले पानीघट्ट पाउन नै मुस्किल छ । टोलभरिका मानिस कुटानीपिसानी गर्न पानीघट्ट आउने गर्दथे । आधुनिकतासँगै यो चलन गराउँदै गयो ।अहिले गाउँघरमा यस्तो पुरानो चलन लोप हँुदै गएको छ ।” अहिले पनि गाउँघरका कुनै÷कुनै ठाउँमा पानीघट्ट भेट्न सकिन्छ तर हिउँद महिनामा खोलाको पानी सुक्ने भएकोले बन्द गर्नुपर्ने अवस्था रहेको टेम्केमैयुङ–५ मझौलेमा पानीघट्ट सञ्चालन गर्दै आउनुभएका हरिबहादुर लम्साल(सार्की)ले बताउनुभयो ।

पानीघट्टमा कुटानीपिसानी गर्दा विद्युतीय तथा डिजेल, पेट्रोलबाट सञ्चालन हुने मिलभन्दा सस्तो पर्ने उहाँको भनाइ छ । साथै पानीघट्टमा पिसिएको अन्न स्वादिलो हुने उहाँले बताउनुभयो । “पानीघट्टमा कुटाउँदा सस्तो पर्छ”, स्थानीयवासी लम्सालले भन्नुभयो, “त्योसँगै यहाँ कुटाएको अन्न खाँदा स्वादिलो हुन्छ तर मानिस छिटो गर्ने बाहनामा मिलमा जान्छन् । पछिल्लो समयमा आएर यस्ता पराम्परागत चलन हराउँदै गएको छ । यस्ता कुराको संरक्षण गर्न आवश्यक छ । धान कुट्नको लागि मिलमा गए पनि कोदो मकै कुट्नको लागि भने पानीघट्टमा आउने गरेका छन् ।” खोला तथा कुलोमा पानी ठूलो भएको अवस्थामा दिनमा छदेखि आठ मुरीसम्म अन्न पिस्न सकिने पानीघट्ट सञ्चालन गर्दै आएका छत्रबहादुर लम्सालले बताउनुभयो । दैनिक राम्रो ढङ्गले चलेको खण्डमा एउटा परिवारको जिविकोपार्जन हुने उहाँको भनाइ छ । पानीघट्ट खोला किनार तथा कुलोको आसपासमा बनाइने चलन छ ।

केही समय अघिसम्म पानीघट्टमा अन्न पिस्न आउनको भीड लाग्ने गरेको स्थानीय रामबहादुर विष्टले बताउनुभयो तर पछिल्लो समयमा पानीघट्ट, ढिँकी, जाँतो चलाउने चलन हराउँदै गएको उहाँको भनाइ छ । यस्तो प्रविधिबाट कुटानीपिसानी गरेर खादा स्वास्थ्यकर हुने भए पनि स्थानीयमा यसप्रतिको ज्ञान कम रहेको उहाँले बताउनुभयो । “मानिसले पानीघट्ट तथा ढिँकी जाँतोको प्रयोग गर्न छाडेका छन्”, स्थानीयवासी विष्टले भन्नुभयो, “विगतमा बनेका पानीघट्ट जीर्ण बनेका छन् । केही वर्षअघिसम्म कुटानीपिसानीको लागि लाइनमा बस्नुपर्ने अवस्था थियो ।

तर अहिले पानीघट्टमा मानिस नै जान छाडेको अवस्था छ ।” पानीघट्ट सञ्चालन हुँदा केही मानिसले रोजगारीसमेत पाउँदै आएका थिए । पानीघट्टमा काम गर्नेले एक पाथी अन्न पिसेको एक माना ज्याला लिने गरेका छन् । मानिसको यसप्रति चासो घटेपछि कुटानीपिसानी गर्ने पेशा धान्न समस्या हुने गरेको स्थानीय पदम बस्नेतले बताउनुभयो ।

स्थानीय जनताको सेवा गरेर एक जनाको परिवारको रोजीरोटी चलिरहेको भए पनि पानीघट्टमा मानिस आउन छाडेपछि समस्या थपिएको उहाँको भनाइ छ । “हामीले एक पाथी अन्न कुटाएबापत एक माना ज्यालाको रुपमा अन्न दिन्छाँै”, स्थानीयवासी बस्नेतले भन्नुभयो, “यसले यहाँ खटिने मानिसको रोजीरोटीसमेत चल्थ्यो तर अहिले यो अवस्था छैन । मानिस छिटो हुने भन्दै मिलतिर लागेको अवस्था छ ।” स्थानीयस्तरबाट पानीघट्ट संरक्षणमा केही पहल गरिरहेको भए पनि त्यो पर्याप्त नभएको स्थानीयवासी शिवकुमार विष्टको भनाइ छ ।

“हामीले गाउँले मिलेर यहाँ पानीघट्ट लगाउँदै आएका छौँ”, स्थानीयवासी विष्टले भन्नुभयो, “विगतमा टाढाटाढाबाट अन्न लिएर मानिस आउथे । अहिले आउनेको सङ्ख्या कम छ । अन्य ठाउँका भएका धेरै पानीघट्ट जीर्ण बनेको अवस्था छ तर संरक्षणमा पहल भएको देख्दिन ।”