कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै , देउवा र थापामा कसले मार्लान् बाजी?

काठमाडौं । नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दैछ । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा संसदीय दलको नेताको लागि प्रतिस्पर्धामा छन् । संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने दुबै नेताक दाउमा छन् । देउवा छैटौंपटक प्रधानमन्त्री बन्न आफूभन्दा करिब ३० वर्ष कान्छा नेतासँग प्रतिस्धर्पा गर्दैछन् । कांग्रेसको आन्तरिक राजनीतिमा पनि सन्तुलन परिवर्तनको संकेत देखिएको छ ।

पुरानो लोकतान्त्रिक तर आन्तरिक लोकतन्त्रमा निकै कमजोर मानिएको नेपाली कांग्रेसमा नेतृत्व पुस्तान्तरणको कुरा बेलाबखत उठ्ने गरे पनि पाका नेताहरुबाट व्यवहार त त्यो देखिएन । वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक कोइराला लगायतका नेताहरु खुलेरै देउवाको पक्षमा लागेका छन् । हिजोका दिनमा उनीहरुले गर्ने गरेको नेतृत्व पुस्तान्तरणको कुरा फगत भाषण मात्र रहेको स्पष्ट भएको छ । आफ्नो स्वार्थ नमिल्नासाथ देउवाको खोइरो खन्न नेताहरु अहिले विभिन्न पदीय आश्वासन पाएसँगै उत्तै ढंल्केका छन् ।

हिजोको दिनमा देउवासँग प्रतिस्पर्धा गर्ने आँट कसैले गर्न नसक्दाको अवस्था र आज महामन्त्री थापाले चुनौती दिँदै अगाडि बढेको अवस्था छ। यो निर्वाचन गुट छुट्याउने र कित्ता किल्यर गर्ने काग्रेसका नेताहरुको लागि अवसर पनि हो ।कांग्रेसमा मात्रै नभएर सबैजसो पार्टीमा चलेको बहस हो पुस्तान्तरणको । पुराना नेताबाट ‘आजित’ पुस्ताले परिवर्तन खोजिरहेको छ । निर्वाचनको सन्देश पनि पुरानो पुस्तालाई ससम्मान बिदा गर्नुपर्छ भन्ने नै देखियो । पुराना शक्ति कमजोर बने, नयाँ शक्तिको उदय हुँदैछ ।

देउवाको वरपर देउवाभन्दा उमेरमा जेठा रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्का थिए भने उमेरमा निकै कान्छा गगन थापाले शेखर कोइरालाको प्रस्तावमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र अर्का युवा नेता प्रदीप पौडेलको साथमा उमेदवारी दर्ता गराएका हुन् ।

अहिले कांग्रेसका ८९ जना सांसद ९मतदाता०को अनुहार हेर्दा देउवाले जित्ने अनुमान सहजै गर्न सकिन्छ । तर,थापाले अन्तिम घडीमा देउवाविरोधी समूह ठूलो बनाए, अनि एकैठाउँमा उभ्याउन सफल पनि भए । अब चुनावले दिएको सन्देशलाई चिरेर पार्टीलाई अघि बढाउने जिम्मेवारी धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलजस्ता युवा नेतामा छ ।राष्ट्रियता, लोकतन्त्र र पार्टी जोगाउने अभियानमा युवा नेताहरु एकै ठाउँमा उभिँदा कांग्रेसभित्र त सकारात्मक सन्देश गएको छ नै त्यसले राष्ट्रिय राजनीति पनि पक्कै प्रभावित हुनेछ ।

अहिलेको संसदीय निर्वाचनमा मतदाताले गरेको निर्देश युवा नेताहरुको हातेमालोमा चरितार्थ हुँदा युवा मतदातामा आशाको सञ्चार गरेको छ ।महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको निर्णय सामु देउवाका पक्षमा उभिएका रामचन्द्र पौडेल, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंहलगायतका नेतालाई लज्जाबोध’ भइरहेको हुनुपर्छ । तिनले महाधिवेशनकै बेलादेखि पुस्तान्तरणको कुरा जो उठाइरहेका थिए ।पौडेल र सिंहले त यसअघि नै दलको नेतामा देउवालाई चुनौती दिएका थिए जहाँ थापाले उनीहरुलाई निस्वार्थ सघाएका थिए ।

तर यसपल्टको थापाको अभियानमा उनीहरु अहिलेसम्म साथ दिने मनःस्थितिमा देखिएका छैनन् । परन्तु, चुनावमा मतदाताले खोजेको परिवर्तन आत्मसात गरेर कांग्रेसका ८९ सांसदले त्यसलाई सम्बोधन गर्न सक्नेछन् । कांग्रेस संसदीय दलको नेताको निर्वाचन गर्न बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसरमा हुनेछ ।