उम्मेदवारका साझा एजेण्डामा ‘ताक्लाकोट सडक’

आसन्न निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भानुभक्त जोशी तीन दशकअघि चुनाव लड्दा उहाँका एजेन्डा थिए बिजुली र बाटो । ताक्लाकोट सडकबारे चर्चा हुन थालेको पनि त्यति बेलैदेखि हो ।

ताक्लाकोट सडकको ट्र्याक, अरु ग्रामीण सडक बिस्तार, खानेपानी, स्वास्थ्य, शिक्षा, पर्यटन यस्तै-यस्तै थिए चुनावी एजेण्डा । त्यसयता देशमा धेरै चुनाव भए । तर उम्मेदवार फेरिए होलान एजेण्डा फेरिएका छैनन् । त्यसो त यस क्षेत्रका उम्मेदवार पनि भानुभक्त जोशी नै हुनुहुन्छ । कैयन राजनीतिक परिवर्तन पनि भए । तर हरेक निर्वाचनमा जोशी र उहाँको पार्टीका एजेण्डा भने फेरिएनन् ।

आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्य उम्मेदवार जोशीले यसपटक पनि ताक्लाकोट नाका खुलाउने र बझाङलाई प्रमुख व्यापारिक केन्द्र बनाउने योजना छाड्नु भएको छैन, बरु थप बिस्तार गर्ने बाचा गर्नुभएको छ । “मैले राजनीति सुरु गर्ने बेला डडेल्धुरासम्म मात्रै सडक पुगेको थियो तर अब बझाङका सबै वडासम्म बाटो पुग्दैछ”, जोशीले भन्नुभयो, “अधिकांश ठाउँमा सडक पुगिसक्यो । प्रत्येक वर्ष थोरै–थोरै काम गर्दै यहाँसम्म पुग्न सकेका हौँ, यसमा मेरो मुख्य भूमिका छ ।” उहाँले हरेक पटक आफ्नो पार्टी सरकारमा हुँदा होस् वा नहुँदा होस् आफूले निरन्तर ताक्लाकोटका बारेमा वकालत गरिरहेको दाबी गर्नुहुन्छ ।

यसपटक निर्वाचन जिते ताक्लाकोट सडक खोलेरै छाड्ने उहाँको बाचा छ । “म धेरै भन्दिन तर चुनाव जिते मेरै कार्यकालमा उत्तरी नाका खुल्छ, यो भनेको समृद्धिको ढोका खोलिनु हो”, उहाँले भन्नुभयो । आफू पदमा रहँदा सडक निर्माणका लागि सक्दो बजेट विनियोजन गराएको र आफ्नै सक्रियतामा केही ठाउँमा ट्र्याक खोलिएको उहाँको दाब िछ । त्यसैगरी नेकपा (एमाले)का पुराना नेता एलबी रावल पनि आफू जिल्ला विकास समितिमा र संविधानसभामा रहँदा उत्तरी नाकाकै बढी वकालत गरेको दाबी गर्नुहुन्छ ।

रावलको सुरूआती निर्वाचनको एजेण्डा पनि ताक्लाकोट नाका नै थियो । “म विभिन्न पदमा रहेका बेला ताक्लाकोट सडक नै मेरो प्राथमिकतामा प¥यो । म जिविस बझाङको क्षेत्र नम्बर ९ थलाराबाट क्षेत्रपाल हुँदासमेत यो सडक हुनुपर्ने माग गरिरहन्थे । २०७० मा निर्वाचित भएपछि सेती नदी तर्ने पहिलो पुल निर्माण, सेती नदी र कालङगालगायतका नदीमा १० वटा पुलको डिपिआर तयार भएर निर्माणको सुरूआत गराएँ”, उहाँले भन्नुभयो । उहाँले चैनपुर–ताक्लाकोट सडक निर्माणका लागि आफूले रु एक अर्ब विनियोजन गराएको स्मरण गर्नुभयो । “दोस्रो पटक रु ४० करोड हालेर चैनपुर–ताक्लाकोट भनेर एउटा प्रोजेक्ट बनाएर रु एक अर्ब ४० करोडको ठेक्का गराएको हुँ”, उहाँले भन्नुभयो ।

अब निर्वाचित भए ताक्लाकोट नाका खुलाउन सक्दो पहल गर्ने उहाँको जिकिर छ । अफिलाल ओखेडाले पनि आफू संविधानसभा सदस्यसमेत रहेका बेला ताक्लाकोट नाका खुलाउने एजेण्डा बनाएको दाबी गर्नुभयो । उहाँले पनि आफू संविधानसभा सदस्य हुँदा ताक्लाकोट सडकका लागि करोडौँ रूपैयाँ बजेट विनियोजन गराएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “त्यसबेला संसद्मा पनि ताक्लाकोट सडककै बारेमा वकालत गरिरहेको हुँ । यसपटक जिते भने ताक्लाकोट नाका खुलाएरै छोड्नेछौँ ।” बझाङको आर्थिकस्तर उकास्नका लागि उत्तरी नाका खोल्नैपर्ने उहाँको भनाइ छ । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार ऐन महर, प्रदेश १ का लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवार पृथ्वीबहादुर सिंह र प्रदेश २ का गठबन्धनकै उम्मेदवार भीम भण्डारी भने निर्वाचन लड्ने नयाँ अनुहार हुनुहुन्छ ।

निर्वाचनका लागि नयाँ अनुहार भए पनि चुनावी एजेण्डा भने सबै उम्मेदवारका लागि ताक्लाकोट सडक नै छ । लामो समय पार्टीकै जिम्मेवारीमा बस्दै आएका नेताहरु बझाङमा आएको विकासे बजेटको साक्षीदेखि बजेट माग्ने पहलकर्ता पनि हुनुहुन्छ । अब आफू सांसद भए ताक्लाकोट नाका खुलाएर सम्भावनै सम्भावना भएको बझाङले छिट्ट्रै रङ फेर्ने तीनै जनाको दाबी छ । “हाम्रो पार्टी सरकारमा भएको बेलामा ताक्लाकोटमा बजेट आएको र अब पनि म पदमा पुगेपछि अरू काम थन्क्याएर पनि ताक्लाकोट नाका खुलाउने प्रमुख काम रहन्छ,” महरले भन्नुभयो । पहिलो व्यापारिक मार्गका रूपमा रहेको ताक्लाकोट सडक खुल्ने वित्तिकै बझाङको जडीबुटी, हिमाली उत्पादन सबै निर्यात हुने र अर्थतन्त्रमा बझाङ अब्बल हुने उहाँको भनाइ छ । कति काम भयो ताक्लाकोट सडकमा ? ताक्लाकोट नाका पुग्ने चीनले एकतर्फी रूपमा काम सम्पन्न गरेको छ । चीनले उरै भन्ज््याङ नजिकै ठाडो ढुङ्गासम्म सडक निर्माण गरिसकेको छ ।

बझाङ सदरमुकाम चैनपुरबाट एक सय तीन किलोमिटर दूरीमा पर्ने उरैमा पुग्न नेपालतर्फबाट भने अझै ६३ किलोमिटर सडक खन्न बाँकी छ । यता बझाङबाट भने ४० किलोमिटर उत्तरसम्म मात्रै ट्याक खुलेको छ । कछुवागतिमा काम भइरहेको सेती लोकमार्ग उत्तर खण्डअन्तर्गत पर्ने यो सडक निर्माणका लागि दुई वटा ठेकेदार कम्पनीले काम गरिरहेका छन् । भौतिक प्रगति सन्तोषजनक नभएको सेती लोकमार्ग उत्तर खण्ड (चैनपुर-ताक्लाकोट) सडक आयोजना कार्यालयले जनाएको छ ।

१८ किलोमिटर दूरीको चैनपुर-रुवातोला सडकलाई चौडा बनाउने कामका लागि २०७३ मा ठेक्का सम्झौता भएर काम सुरू गरेको लुम्बिनी र राजेन्द्र निर्माण सेवाले हालसम्म काम सम्पन्न गर्न सकेको छैन । दुई वर्षभित्र काम सक्ने गरी सुरूआती ठेक्का सम्झौता गरेकोमा सात वर्षमा ९५ प्रतिशत काम गरेको आयोजना कार्यालयका प्रमुख सुरेन्द्रबहादुर सिंहले बताउनुहुन्छ । यस्तै तल्कोटको रूपातोलादेखि साइपालको धुलीसम्म ४० किलोमिटर सडक निर्माणको जिम्मा लिएको स्वच्छन्द नागार्जुन जेभी कम्पनीको काम झनै कछुवा गतिमा छ । साढे चार वर्षमा सम्पन्न गर्ने गरी २०७४ मा ठेक्का लिएको यस कम्पनीले पाँच वर्ष हुँदा पनि ५० प्रतिशत काम गरेको छैन ।

चार वर्षको अवधिमा १४ किलोमिटर ट्रयाक खोलेको छ । आयोजना कार्यालय प्रमुख सिंहका अनुसार यस नागार्जुन जेभीले ०७६ पछिका ३ वर्षमा थप ६ किलोमिटर ट्रयाक खोलेको छ । “प्राकृतिक स्रोतले भरिएको यी ठाउँमा कैयन सम्भावना छन्,” एमालेका उम्मेदवार ऐन महरले भन्नुभयो, “दुई हजार मेगावाट विद्युत उत्पादन, पर्यटन गन्तव्य र कृषिको अथाह सम्भावना छ, त्यसैले चैनपुर ताक्लाकोट बाटो मानसरोबरसम्म जोड्न सकियो भन वैदेशिक व्यापार गर्न सजिलो हुनेछ ।” नेपाली कांग्रेसका नेता तथा प्रदेश १ बाट गठबन्धनका उम्मेदवार पृथ्वीबहादुर सिंहले पनि बझाङको भविष्य सडक र विद्युतबाट फेरिने बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ-गाउँमा सडक पुगिसकेको छ ।

अब ताक्लाकोट नाका खुलेपछि यहाँको उत्पादन चीनसम्म पु¥याउन सकिन्छ ।” एमालेका उम्मेदवार ओखेडा पनि आफूलाई हाइड्रोपावरको पक्षपाती भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मैले सांसदमा भएको बेला धेरैजसो हाइड्रोपावरकै बारेमा वकालत गरेँ । त्यसैको परिणाम अहिले पनि धमेनामा २१० मेगावाटको विद्युुत प्राधिकरणले मेगा प्रोजेक्ट बनाउँदैछ, ८७ मेगावाटको चैनपुरमा बन्ने तयारी छ ।” राधा ज्ञावाली उर्जामन्त्री भएको बेलामा पटक–पटक बझाङका योजनाको बारेमा ध्यानाकर्षण गराएको उहाँको भनाइ छ ।

अब पनि चुनाव जितेर संसदमा गएपछि धमेनामा बन्दै गरेको हाइड्रोपावर, कालङ्गा हाइड्रो, बाहुलीगाड, सुनीगाड तथा ओखेलजस्ता ठूला हाइड्रो निर्माणमा तीव्रता दिन पहल गर्ने बताउनुभयो ।-