दुई चुनावी सभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवाआज काठमाडौँ फर्कने

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि गृहजिल्ला डडेल्धुरामा दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। उनी आजै काठमाडौं फर्केने कार्यक्रम छ।

देउवा गत बुधबार मात्र काठमाडौंबाट धनगढी पुगेका थिए। बिहीबार डडेल्धुरा पुगेर देउवाले अमरगढी नगरपालिकास्थित बसपार्कको आमसभालाई सम्बोधन गरेका थिए।

उनले शुक्रबार नवदुर्गा गाउँपालिका बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गरे भने शनिबार अजयमेरू गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिका रूपालमा भएको आमसभालाई सम्बोधन गरेका थिए।

देउवा मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनका तर्फबाट डडेल्धुराबाट सातौँ पटक संघीय संसदका उम्मेदवार छन्। डडेल्धुरामा एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र छ। उनी ०४८ सालदेखि डडेल्धुराबाट लगातार चुनाव जित्दै आइरहेका छन्।