एमालेले बनायो ‘चुच्चे नक्सा र भूमि फिर्ता’ चुनावी एजेण्डा, चुनावी सभा दार्चुलाबाट सुरु गर्दै ओली

प्रमुख प्रतिपक्षी एमालेले चुच्चे नक्सा र नेपाली भूमि फिर्ता विषयलाई चुनावी एजेण्डा बनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अढाइ वर्षअघि भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको भूगोल समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । उक्त नक्सा ३१ जेठ ०७७ मा संघीय संसदले अनुमोदन गरिसकेको छ ।नक्सा जारी भएपनि भूगोल भने फिर्ता नभएका बेला एमालेले आसन्न चुनावमा यसैलाई एजेण्डाका रुपमा अघि सारेको छ । पूर्वमन्त्रीसमेत रहेका एमाले नेता गणेशसिंह ठगुन्नाका अनुसार एमाले नेतृत्वको सरकारले अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरेकाले अब पनि एमाले सरकारले नै भूमि फिर्ता गराउने बताए । ‘त्यसका लागि एमालेले जित्नुपर्ने हुन्छ,’उनले भने ।

एमाले यसअघिका चुनावमा प्रायः सहरी क्षेत्र र पूर्वी जिल्लाबाट चुनाव अभियान थाल्थ्यो । तर, यसपटक भने सामरिक महत्वको दार्चुलाबाट अभियान सुरु गर्न लागिएको हो । भारत र चीनसँग सीमा जोडिएको दार्चुलाबाट चुनावी अभियान थालेर एमालेले ‘राष्ट्रवादी’ मुद्दा चर्काउने संकेत गरेको छ । एमालेले यहीँ जिल्लाबाट चुनावी अभियान सुरु गर्दा राजनीतिक माहोल तरंगित भएको छ ।

केही महिनाअघि एउटा सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले नक्सा जारी गरेकै कारण आफूले सरकार छाड्नुपरेको दाबी गरेका थिए ।०७४ को निर्वाचनमा एमालेले भारतले लगाएको नाकाबन्दीको विषयलाई चुनावी एजेण्डा बनाएको थियो ।आज दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्दै ओलीएमालेले आजबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्दैछ । एमाले अध्यक्ष केपी ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगाबाट अभियान सुरु गर्न लागेका हुन् । उनी त्यसका लागि बिहीबार नै सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी पुगिसकेका छन् ।

उनले आज दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टका अनुसार ओलीले ९ दिनमा कम्तीमा ४० जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने छन् ।उनले सुदूरपश्चिमपछि कर्णालीका सुर्खेत र दैलेखमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् । लुम्बिनीमा ६ जिल्लामा ओलीलाई सहभागी गराउने गरी प्रदेश कमिटीले तयारी सुरु गरेको छ । गण्डकीका स्याङ्जा, कास्की र लमजुङमा २० कात्तिकमा तथा बाग्लुङ, पर्वत र नवलपुरमा २१ कात्तिकमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।मधेसमा जनकपुरसहित अन्य क्षेत्रमा हुने सभामा उनी सहभागी हुनेछन् । त्यस्तै, प्रदेश १ का झापा, सुनसरी, उदयपुर, खोटाङ, संखुवासभा, मोरङ र पाँचथरमा आमसभाको तयारी गरिएको एमालेले जनाएको छ ।