चुनाव प्रचारमा, कांग्रेस र एमालेलाई हेलिकोप्टर प्रयोगको अनुमति

काठमाडौं । मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार आजदेखि गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।

हालसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने छन् । साथै उम्मेदवारहरुले खर्चको सीमाभित्र रहेर सञ्चार माध्यमहरुबाट समेत चुनाव प्रचार गर्न पाउँछन् ।

चुनाव प्रचारका लागि दलका शीर्ष नेताहरु देश दौडाहामा छन् । प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा गएका छन् । सरकारी स्रोतसाधन दुरुपयोग नगर्ने गरी आयोगले देउवालाई चुनाव प्रचारको अनुमति दिइसकेको छ । कांग्रेस सभापतिसमेत रहेका देउवाले मुख्य प्रचारकको रुपमा हेलिकोप्टर प्रयोगको अनुमति पाएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आयोगबाट हेलिकोप्टर प्रयोगको अनुमति पाएका छन् । ओलीले मुख्य प्रचारकको रुपमा हेलिकोप्टर प्रयोगको अनुमति पाएका हुन् । निर्वाचन आचारसंहितामा मुख्य प्रचारकले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्था छ । हेलिकोप्टर प्रयोग पनि आयोगले तोकेको खर्चको सीमाभित्र रहेर गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री र मन्त्री आफ्नो क्षेत्रबाहेक अर्को क्षेत्रमा चुनाव प्रचार गर्न जानु परेमा आयोगबाट अनुमति लिनुपर्दछ । मन्त्री नै उम्मेदवार भए सरकारी स्रोत साधन प्रयोग नगरी चुनाव प्रचार गर्न पाइन्छ । स्थानीय तहका जनप्रतिनिधि भने चुनाव प्रचारमा संलग्न हुन पाइँदैन । उम्मेदवारको प्रचारमा गएका काठमाडौं महानगरपालिका वडानम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई आयोगले ५ हजार जरिवाना गरिसकेको छ ।