भारतमा पक्राउ परेकी चिनियाँ महिलासँग भेटियो नेपाली नागरिकता

 काठमाडौँ- नेपाली नागरिकतासहति एकजना चिनियाँ महिलालाई भारतीय प्रहरीले दिल्लीमा पक्राउ गरेको छ। चीनको हैनान प्रान्तकी ती महिलाले नेपाली

नागरिकतामा डोल्मा लामा नाम राखेर शंकास्पद गतिविधि गरेको अभियोगमा शुक्रबार दिल्ली पुलिसले पक्राउ गरेको हो।

टाइम्स अफ इन्डियाका अनुसार दिल्ली पुलिसले उनलाई जासुसी आरोपमा पक्राउ गरेर म्याद थपका लागि स्थानीय अदालतमा पेश गरेको छ। चिनियाँ नाम काई रुओ भएकी उनलाई दिल्लीस्थित मञ्जुका तिला क्षेत्रबाट पक्राउ गरेर अनुसन्धान थालिएको हो। उनी दिल्लीस्थित शरणार्थी शिविरमा बसेर त्यहाँका विभिन्न मन्त्रालय र सरकारी कार्यालयबाट गोप्य विवरण बटुल्न लागेको आरोप दिल्ली पुलिसले लगाएको छ। 

बौद्ध भिक्षुको रुपमा दिल्लीमा बस्दै आएकी उनीबाट कयौँ शंकास्पद दस्तावेवज भेटिएको पनि दिल्ली पुलिसले जानकारी दिएको छ। उनी सन् २०१९ चीनबाट चिनियाँ नागरिककै रुपमा जहाजबाट दिल्ली आएको प्रहरीले जनाएको छ। तर त्यसपछि उनले नेपाली नागरिकता लिएर डोल्मा लामाका रुपमा आफूलाई चिनाउँदै आएको प्रहरीको दाबी छ। 

ती चिनियाँ महिलामाथि आफ्नो हुलिया र परिचय फे‍रेर भारतविरोधी गतिविधिमा संलग्न भएको आरोप लागेको छ। भारतीय चर्चित पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उनी नेपालको नागरिक भएर भारतमा रहँदै आएको उल्लेख गरेको छ। 

उनलाई अनुसन्धानका लागि १४ दिन प्रहरी हिरासतमा पठाइएको छ ।