चुनाव हार्ने भएपछि गगन अत्तालिए, आफूले नगरेका कामको पनि जस लिएर भाइरल बन्ने प्रयास

काठमाडौँ । चुनाव लागेपछि उम्मेदवारहरुका अनेक चटक देख्न पाइएको छ । एकपटक भोट पाएपछि ५ वर्ष हराउने उम्मेदवारका बीच काठमाडौँ–४ का गगन थापाले आफू जित्नका लागि देशभरिका बाँकी उम्मेदवारलाई माथ खुवाउने खालका चटक गरिरहेका छन् । कतिसम्म भने उनले आफूले गर्दै नगरेका कामको जस लिन र अनधिकृत स्वास्थ्य सेवा कार्यक्रम लिएर मतदाता फकाउन र रिझाउन लागिपरेका छन् ।

मतदाताका खेतमै गएर धान काटिदिनेदेखि लम्पसार पर्ने र भान्सामै गएर सघाउने उम्मेदवारका बीच गगनले त्योभन्दा पनि निकै सस्तो बाटो अपनाएका छन् । गगनले एउटा भिडियो बनाएर काठमाडौँ–४ मा बनेका सबै सडक, पार्क र अरु पूर्वाधार आफैले बनाएको दाबी गरेका छन् । उनले यस क्षेत्रका कपन तथा बुढानीलकण्ठमा बनेका राम्राराम्रा सडकको दृश्य खिच्न लगाएर ती सबै आफ्नै पौरखले सम्भव भएको दाबी गरेका छन् ।

चुनाव आउन एक महिना पनि बाँकी नरहेका बेला गगनको चटक यतिमै बाँकी छैन । फेरि उनले डेँगी जाँच्न घरघरमा जाने भनेका छन् । मानौँ, गगन यो देशमा समानान्तर सरकार हुन् । उनी कार्यकारी हैसियतमा छन् । त्यही भएर निर्वाचन क्षेत्रमा बजेट दिन्छन् । कार्यक्रम बनाउँछन् । चिकित्सा सेवा दिन्छन् । यहाँ नेपाल सरकार र स्थानीय सरकारको कतै उपस्थिति छैन ।

नभए गगनले यस क्षेत्रमा भएभरका विकास निर्माणका काम आफैले गरेको दाबी कसरी लिए ? के उनले आफ्नो पैतृक सम्पत्ति बेचेर यो काम गरे ? धोबीखोलाका दायाँबायाँ किनारमा सडक बनाउने परियोजना २० वर्ष पुरानो हो । पछिल्लोपल्ट उपत्यका विकास प्राधिकरणले काठमाडौँका सबै नदीनालाका किनारा सडक बनाउने र सौदर्यीकरण गर्ने योजना चलिरहेको छ । यो काम काठमाडौँ–४ मा मात्र भएको छैन । उपत्यकाभित्रका १५ वटै निर्वाचन क्षेत्रमा भएको कार्यक्रम हो । बरु सबैभन्दा धीमा गतिमा काम भएको धोबीखोलामा हो ।

कपनदेखि बूढानीलकण्ठ क्षेत्रमा बनेका पार्क र सडकछेऊमा लगाइएका बिरुवा पनि गगनले आफ्नै मेहनतको फल भनेर फेसबुकमा झुटा सामग्री प्रचार गरेका छन् । किनभने, यी काम बूढानीलकण्ठ नगरपालिकाले गरेका हुन् र यहाँ स्थानीय सरकारको नेतृत्व लगातार नेकपा एमालेले गरिरहेको छ । कांग्रेसले माओवादीसहित पाँच दलीय गठबन्धन गरेका कारण देशभरिमा एमाले धेरै ठाउँमा पराजित हुँदा पनि बूढानीलकण्ठमा शानदार मतले विजयी भएको छ । गगनको कांग्रेसले नराम्रोसँग धुलो चाट्नुपरेको छ । गगनका यस्तै गफ बढी गर्ने, झुटो बोल्ने र चटक देखाउने कारणले यस क्षेत्रका बासिन्दा आजित भएका छन् ।

केहीअघि कमल पोखरी पनि आफैले बनाएको भनेर भिडियो भाइरल बनाएका थिए । जबकि उनले कमलपोखरी पुनःनिर्माणको विरोध गरेर काम रोक्न पत्र नै लेखेका थिए । तर, काठमाडौँ महानरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यको पहलमा अहिलेको सुन्दर कमलपोखरी बनाउन सम्भव भएको थियो । गगनले सुरुमा कमलपोखरी निर्माणमा अवरोध पुर्याएको र अहिले जस लिन त्यो आफै बनाएको भन्ने झुटा दाबीसहितको भिडियो बनाएपछि काठमाडौँ महानगरबासी पनि गगनको दोहोरो चरित्रबाट पुनः परिचित भएका छन् ।

गगनका प्रतिस्पर्धी एमालेका डा. राजन भट्टराई हुन् । उनी एक बौद्धिक एवं भद्र स्वभावका नेता हुन् । उनी जनतासँग भिजेका पनि छन् । हल्ला नगरी काम गर्छन् । नगरबासीका समस्या समाधानका लागि जहिले पनि तयार हुन्छन् । उनलाई यस क्षेत्रमा काम गर्न र मुख देखाउन चुनावै आउनुपर्दैन । यस क्षेत्रका जनताले हराउँदा पनि उनले कहिल्यै हार खाएनन् । निर्वाचन क्षेत्रमा निरन्तर देखापर्ने र विकास निर्माणमा चासो राख्ने नेतामा भट्टराई पर्छन् ।

गगन थापाले अहिले जे गरिरहेका छन्, त्यो निर्वाचन आचारसंहिताविपरीत छ । उनले जनतासामु झुठा दाबी पेस गरेका छन् । मतदातालाई प्रभावित गर्न अनेक ढाँटपूर्ण हतियार प्रयोग गरिरहेका छन् । यसपालि कपनवासीले गगनलाई हराउनैपर्ने अठोट लिएपछि अत्तालिएका गगन सर्लाहीबाट चुनाव लड्न खोजेका थिए । सर्लाहीबाट त्यहीँका स्थानीय कांग्रेसले उनले लखेट्ने निश्चित भएपछि फेरि काठमाडौँ–४ मै आइपुगेका हुन् ।

फेसबुकमा झुटा दाबी गर्नेदेखि डेंगुको उपचार भन्दै अहिले मतदातालाई प्रभावित पार्ने काम गरिरहँदा निर्वाचन आयोग भने रमिते बनिरहेको छ । सार्वजनिक खपतका लागि जस्तासुकै चटक गर्ने गगन थापालाई निर्वाचन आचारसंहिता पनि नलाग्ने हो दिनेश थपलियाज्यू ?