रुसी आक्रमणमा कम्तीमा सत्रको मृत्यु

युक्रेनको जापोरिज्जिया क्षेत्रमा शनिबार रकेट प्रहार हुँदा कम्तीमा १७ जनाको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका छन् ।जापोरिज्जियाका कार्यवाहक मेयर अनातोली कुर्तेभले आक्रमणमा पाँचवटा घर ध्वस्त भएको र अपार्टमेन्ट भवनमा क्षति पुगेको बताउनु भएको सीएनएनले जनाएको छ । यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै पूर्वी डोनेट्स्क क्षेत्रको बाख्मुत सहर वरपर भीषण युद्ध भइरहेको बताउनु भएको थियो ।

व्यापक क्षेत्रको एक भाग रुसी सेनाद्वारा कब्जा गरेको छ । रुसले युक्रेनका चार क्षेत्र डोनेस्क, लुहान्स्क, जापोरिज्जिया र खेरसन क्षेत्रलाई गाभेको घोषणा गरेपछि मस्को र किभबीचको युद्ध चर्किएको छ ।

रुस र युक्रेनबीचको युद्ध नयाँ चरणमा प्रवेश गरेको छ । किभले मस्कोको कब्जामा ठूलो धक्का दिएपछि यसले देशको दक्षिणी भागमा रहेको खेरसन क्षेत्रको २४ सय वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको एक वरिष्ठ युक्रेनी अधिकारीले शुक्रबार सीएनएनलाई जनाएको छ ।