कैलालीमा ३ महिने पार्टीको तहल्का, दुई पालिकामा जित, अरूमा पनि अग्रता

काठमाडौँ । कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले आश्चर्जनक नतिजा हासिल गरेको छ । थारुबाहुल क्षेत्र कैलालीको टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा यस दलले विजय हासिल गरिसकेको छ भने केहीमा अग्रता कायमै छ । प्रतिनिधि निर्वाचित नभएका पालिकामा पनि उल्लेख्य मतसहित दोस्रो या तेस्रो स्थान यस दलले हासिल गरेको छ ।

जनता समाजवादी पार्टीका सांसद चौधरी टीकापुर नरसंहारमा अदालतबाट दोषी ठहर भएका कारण जन्मकैदमा छन् । २०७२ सालमा टीकापुरमा भएको डेढ वर्षे बालक ८ सुरक्षाकर्मीको हत्या भएको थियो । घटनामा दोषी ठहर भएर जन्मकैद भोगिरहेका चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी दर्ता गराएका थिए ।

त्यही तीन महिने पार्टीबाट टीकापुर नगरपालिकाको नगरप्रमुखमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डगौरा थारु निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गर्दै डगौरा विजयी भएका हुन् ।

डगौरा ९ हजार ६४२ मत पाउँदै विजयी भएका हुन् भने रावलले ६ हजार ६४२ मत पाए । यस्तै उपप्रमुखमा भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खडकबहादुर शाह विजयी भएका छन् ।

शाहले ७ हजार ९५५ मत पाउँदा नागरिक उन्मुक्तिकी उल्कादेवी विश्वकर्माले ७ हजार ८०२ मत पाइन् । यसै गरी काँग्रेसको पकड क्षेत्र मानिदै आएको कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका छन् । उनी ४ हजार ९ सय ३ मत प्राप्त गरी विजयी भएका हुन् ।

नेपाली कांग्रेसका बन्सराम बडायक थारुले ३ हजार ३ सय ६८ मत प्राप्त गरे । गाउँपालिकाको उपाध्यक्षमा नागरिक उन्मुक्ती पार्टीकै रेखादेवी कठरिया विजयी भएकी छन् ।

उनले ४ हजार ५ सय ८९ मत प्राप्त गरेकी छन् । उनक निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज बिनाडीले ३ हजा ९ सय ६१ मत प्राप्त गरे ।