कांग्रेसलाई छाडेर वामपन्थी दलहरूबीच चुनावी एकता होला ?

काठमाडौं ।स्थानीय तहको चुनाव नजिकिएसँगै फेरि वामपन्थी पार्टीहरुबीचको एकताबारे बहस सुरु भएको छ।ठूलो वामपन्थी दल भएका कारण एमालेले गठबन्धन तथा एकताको पहलकदमी गर्नु पर्ने नेताहरुले बताएका छन्। त्यसो त नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा समेत वाम गठबन्धन बनाउन दबाब रहेको समाचारहरु सार्वजनिक भएका छन् ।

नेकपा एमालेका नेताहरुले पनि वामपन्थी पार्टीबीचको एकताबारे बहसलाई तिब्रता दिएका छन् । वामपन्थी दलहरुबीचको एकताबारे बहस भए पनि यसको सम्भावना तत्काल नदेखिएको एमालेकै कतिपय नेताहरुको भनाइ छ ।

एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दल वामपन्थी नभएको बताउँदै आसन्न चुनावमा ती दलहरुसँग गठबन्धन हुन नसक्ने बताइसकेका छन् । तर, वैचारिक र सैद्धान्तिक रूपमा एमाले, माओवादी र एकीकृत समाजवादीमा कुनै भिन्नता छैन । वामपन्थी दलहरुबीचको विभाजनको फाइदा कांग्रेसलाई पुग्ने निश्चय नै छ । नेताहरूका स्वार्थमा आधारित एकता नटिक्ने इतिहासले देखाएको छ। कतिपय मानिसहरू वामपन्थी दलहरूबीचको एकताको विरोधमा लागिरहेको छ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि एमालेसँगको गठबन्धनलाई भन्दा कांग्रेससँगको वर्तमान गठबन्धनलाई चुनावसँग लैजान बढी जोड गरिरहेका छन् । नेताहरुबीचको कटुताका कारण पनि नजिकएको स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने कुरामा नेता कार्यकर्ताले विश्वास गरिरहेका छैनन् ।

कांग्रेसलाई भने कतै वामपन्थी दलहरुबीच चुनावी गठबन्धन बन्ने त होइन भन्ने चिन्ता छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकटहरुलाई वामपन्थीहरु मिल्न सक्ने भन्दै चुनावमा अहिले गठबन्धनलाई निरन्तरता दिनु पर्ने बताइरहेका छन् ।

यसअघिको स्थानीय तह निर्वाचनमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको थियो । नेकपाका नेताहरुबीचको विवादका कारण कमजोर बनेको कांग्रेसको नेतृत्वमा सत्ता पुगेको छ ।