नाइजेरियामा अन्धाधुन्ध गोली हानी १६ गाउँलेको हत्या

नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा अज्ञात बन्दुकधारीहरुले  अन्धाधुन्ध गोली हानी १६ जना सर्वसाधारण गाउँलेको हत्या गरेका छन् । जामफारा प्रहरीले सो घटनाको पुष्टि गरेको छ । समाचारअनुसार ती गाउँलेमाथि अज्ञात बन्दुकधारीहरुले गोली हानेका थिए । 

उनीहरुले उक्त राज्यको गनार कियाना भन्ने गाउँमा पुगेर गाउँलेमाथि गोली चलाएका थिए । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु कयौँलाई नराम्ररी घाइते बनाएका छन् ।
गत आइतबार राति सो गाउँमा ठूलो हिंसा भएको प्रहरीले जनाएको छ । तर ती गाउँलेको कसले र किन हत्या गरेको हो भन्ने बारेमा भने प्रहरीले केही पनि बताएको छैन । 

प्रत्यक्षदर्शीहरुले त्यस गाउँका गाउँलेमाथि ठूलो संख्याका हतियारधारी आएर बन्दुकले हमला गरेको बताएका थिए । उनीहरुले दर्जनौँ गाउँलेलाई घाइते बनाएका छन् । ती गाउँमा गएका केही महिनादेखि हिंसाका घटना भइरहेका छन् । तर ती हत्याको जिम्मेवारी भने कुनै पनि समूहले लिएको छैन ।

उक्त राज्यका प्रहरी प्रमुखले शान्ति सुरक्षा कायम गर्नका लागि भन्दै यहाँको प्रान्तीय सरकारसँग थप सुरक्षाकर्मी माग गरेको जानकारी दिएको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ ।