सर्वाेच्चका सबै न्यायाधीश राजीनामा दिन तयार छन् ?

काठमाण्डौं। कात्तिक ८, प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवराले न्यायालयको शुद्धिकरणका लागि आफूले जुनसुकै कुर्वानी गर्न तयार रहेको बताउँदै आएका छन् ।

केही बर्ष अघि न्यायाधीशहरुको सम्मेलनमा समेत राणाले सबैजना राजीनामा दिन तयार रहे आफू पहिलो नम्बरमा राजीनामा दिन तयार रहेको बताएका थिए । आज फेरी राणाले सबै न्यायाधीशहरु सामु पहिला तपाईंहरु राजीनामा लेख्नुस् म तपाईंहरुसंगै राजीनामा दिन तयार छु भन्ने प्रस्ताव राखे भने अरु न्यायाधीशहरुले के जवाफ देलान् ? यो गंभीर प्रश्न आज उठ्न सक्ने अवस्था छ ।

शुत्रहरुका अनुसार राणाले यो प्रस्ताव राख्ने संभावना अत्यधिक छ । राणा विषम परिस्थितिमा न्यायालयको नेतृत्व गरेर आएका व्यक्ति भएकोले पुनः उनले त्यस्तै खालको कडा दाउ नहान्लान भन्न सकिदैन ।

शुशीला कार्कीलाई महाभियोगबाट बचाउने, गोपाल पराजुलीको इजलास बहिष्कार गर्दा समेत राणाले कडा दाउ हानेर नै आफ्नो इतिहास रचेका हुनाले राणाले आज फेरी कुनै जुक्ति निकाल्दैनन् भन्न सकिदैन ।

राणाले आज खेल्ने दाउ पनि त्यस्तै कुनै प्रकारको हुन सक्दैन भन्न सकिदैन किनभने आज सर्वाेच्च अदालतमा जतिजना न्यायाधीशहरु छन् उनीहरुको नियुक्ति र राणाको नियुक्तिमा कुनै फरक छैन । कसैले शक्तिका भरमा न्यायाधीशको पद पाएका छन् भने कसैले कुनै व्यक्तिलाई खुसी तुल्याएवापत न्यायाधीश बनेका छन् ।

प्रधान न्यायाधीश राणा आज जुन अप्ठ्यारोमा थिए, हिजो शुशीला कार्की, गोपाल पराजुली, दिपकराज जोशी थिए, त्यसकारण राणालाई मात्रै यो अवस्था आएको होइन । हिजो कार्की, पराजुली र जोशीलाई खाने बाघले आज राणालाई खान ठिक्क परेको छ, तर उम्किन सक्ने नसक्ने कुरा राणाकै किस्मत र हिम्मतमा भर पर्ने विषय हो ।

न्यायालयको सुधारको अभिभारा प्रधान न्यायाधीशको मात्रै होइन, सबै न्यायाधीशको हो ।

प्रधान न्यायाधीश राणाको विरोध भएपछि उनका साढुदाई गजेन्द्र हमालले तीनदिनको उद्योगमन्त्रीबाट राजीनामा गरिसकेका छन् । तर नियुक्ति दिलाउने प्रधानमन्त्री शेर बहादुर देउवा अहिलेसम्म चुइक्कसम्म पनि बोल्न सकेका छैनन् ।

राजीनामा गरिसकेको हुनाले अब त्यहि दोष दिएर राणाको राजीनामा माग्नुको कुनै तुक छैन किनभने कोहीपनि पानीमाथिको ओभानो हुनुको अर्थ छैन ।

प्रश्न उठेको छ–देउवाको गल्तीको दोषको किन प्रधान न्यायाधीश राणालाई बोकाइएको छ ? के प्रधानन्यायाधीश राणाले पूर्व प्रधानमन्त्री केपी ओलीद्धारा विघटन गरिदिएको प्रतिनिध सभाको दुवैपटक पुनस्र्थापना गरिदिएर लोकतन्त्रलाई लगाएको गुन नै उनले गरेको महापाप थियो ? के उनले देउवालाई प्रधानमन्त्रीमा गरिदिएको घोषणा नै महापाप थियो ? के ओलीको सत्ता गिराएर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई सत्तामा पु¥याईदिनु नै महापाप थियो ?

त्यसैले त नेपाली समाजलाई बैगुनी भनिएको हो । गुनको बदला गुन खुनको बदला खुन त्यसै भनिएको होइन ।

नेपाली समाजमा पहिल्यैदेखि नै गुनको बदला गुन र खुनको बदला खुन भन्ने उखान चलिआएको छ । देउवाले प्रधान न्यायाधीश राणालाई खुसी पार्न उनका केही व्यक्तिलाई नियुक्ति दिलाउन खोजेका हुन सक्छन् । यो कुरा राणालाई थाहा नहुन पनि सक्छ । अर्थात् राणालाई खुसी पार्नुपर्ने देउवाको कमजोरी राणालाई नै पनि थाहा नहुन सक्छ ।

नेपालको कानुन समुदाय सुरुमा प्रधान न्यायाधीश र न्यायाधीशहरुलाई खुसी तुल्याउने, उसबाट आफ्ना कुराहरु पूरा गराउन कोसिस गर्ने र काम भइसकेपछि कुप्रचार गरेर पत्रु बनाएर घर पठाउनमा तल्लिन छ । राणाको समेत अबको तेह्र महिनाको समयमा यही कुराको पराकाष्टा नदोहोरिएला भन्न सकिदैन । न्यायालयको सुधारको अभियानका दौरानमा यो प्रश्न उठ्न आवश्यक छ कि छैन ? के प्रधान न्यायाधीश एक्लैले न्यायालयमा विकृति विसंगति भित्राएको हो ? के विकृतिको प्रतिवेदनमा प्रधान न्यायाधीशलाई मात्रै दोषको भारी बोकाइएको छ ?

विगतका प्रधान न्यायाधीशहरुले पाएको अवकासलाई दृष्टिगोचर गर्ने हो भने पनि यो कुरा प्रष्ट हुनेछ । कसैलाई चोखो रुपमा अवकाश हुन दिइएको छैन ।

जबजब प्रधान न्यायाधीशहरु अवकाशको मुखमा पुग्छन् उनीहरुलाई एउटा वा अर्काे बखेडा झिेकर पत्रु बनाउने प्रयास गरिएको इतिहास हामीहरुको सामुन्नेमा साक्षी छ । विश्वनाथ उपाध्यायजत्तिको सबैभन्दा उम्दा प्रधान न्यायाधीश हुन वा अन्य जुनकोही प्रधान न्यायाधीश नै किन नहुन एकहिसाबले लखेटेको लेखेटै गरिएको छ ।

केशव प्रसाद उपाध्याय, हरिप्रसाद शर्मा, गोपाल पराजुली, दीपकराज जोशीहरुलाई समेत रछ्यानमा पुग्नेगरी गाली गलौज गरेर घर पठाइएको थियो । सुरुमा गुणगान गाएर अखबारमा छापिन्छ, उनलाई माथि उचालिन्छ र पछि अवकास पाउने पाउने बेलामा घरफिर्ता पठाइने गरिएको छ ।

राणाले प्रधान न्यायाधीशको रुपमा लगभग तीन वर्ष भन्दा बढीको अवधि विताइसकेका छन् । उनले यी तिनबर्षको अवधिमा ओलीले गरेको प्रतिनिधि सभाको विघटन बदर गरिदिएका, एनसेलको कर उठाइदिएका, सुनकाण्डका अभियुक्तलाई छाडिदिने न्यायाधीशलाई कारबाही गरेका र न्यायाधीश नियुक्तिमा राम्रा व्यक्ति छानेका जस्ता कुराहरुको कुप्रचार गर्ने गरिएको छ ।

रञ्जन कोइरालाको मुद्दामा समेत राणाले एउटा न्यायाधीशको रुमपा चित्तले देखेको निर्णय गरेका छन् । तर उनलाई देखिनसहने वर्गले उनीमाथि निरन्तर प्रहार गरिरहेको छ । न्यायाधीशको रुपमा मान्ने तर न्यायाधीशको विशेषाधिकार प्रयोग गर्न नदिने वा गर्न पाउदैनस भनेर खबरदारी गर्ने कार्य नेपाली समाजमा जकडिएर बसेको एउटा गम्भीर अवस्था हो ।

अहिले राणा पनि चौतर्फी दबाबमा छन् । राजनीतिज्ञले उनलाई खुसी पार्न खोजेको छ, तर बार र न्यायिक समुदाय नै उनीविरुद्ध कडा रुपमा प्रश्तुत भइरहेको छ । उनले गरेको योगदानको कदर गर्न समाज तत्पर छ, तर बार र न्यायिक समुदाय नै उनको योगदानको कदर गर्न दिइरहेको छैन । देउवाको कमजोरीको दोष राणालाई दिनु कसरी उचित हुन्छ ? राणा मात्रै एक पात्र होइनन् जसको प्रतिविम्ब अहिलेको न्यायालय होस् ।

पूर्व न्यायाधीशहरुको फोरमले प्रधान न्यायाधीशको राजीनामा माग्ने आधार र कारण के हो ? उनीहरुले राजीनामा माग्ने अधिकार कहाँबाट पाए ? के उनीहरुको पालामा अदालत दुधले धोएको अवस्थामा थियो ? त्यसवेलाका भ्रष्टाचारी न्यायाधीशलाई कारबाही गरिएको थियो ? त्यसको दोष पनि राणालाई नै दिनु उचित हुन्छ ?

सर्वाेच्च अदालतका सबै न्यायाधीशका कारण अहिलेको सर्वाेच्च अदालत बन्न पुगेको छ, त्यसैले के राणासंगै सबै न्यायाधीश राजीनामा गर्न तयार छन् ?