अदालतको चाप्लुसीतन्त्र अन्त्य गर्ने प्रधानन्यायाधीश राणाको प्रयास

काठमाडाैँ-हालै सर्वोच्च अदालतका तीन वरिष्ठ न्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाकहाँ ‘डेलिगेसन’ गए ।

उनीहरु प्रधानन्यायाधीश राणालाई न्यायाधीश नियुक्ति र सरुवाबारे सुझाव दिन गएका थिए । वरिष्ठता मिच्न नहुने, उनीहरुले भनेका न्यायाधीशहरुलाई भनेका ठाउँमा सरुवा र उपल्ला तहमा नियुक्ति गर्नुपर्ने लगायतका सुझाव ती न्यायाधीशले दिएका थिए ।

सुझावका नाममा उनीहरु आसन्न न्यायपरिषद बैठकका निर्णय प्रभावित पार्न आएको राणाले बुझिहाले । यसरी हुल बाँधेर प्रधानन्यायाधीशकहाँ जाने र निश्चित एजेण्डा प्रस्तुत गर्ने ती न्यायाधीशहरुको शैली अनौठो थियो ।

मुलुकको न्यायिक नेतृत्वलाई नमागेको सुझाव दिन पुग्ने उनीहरुलाई प्रधानन्यायाधीश राणाले पनि गतिलै जवाफ दिए ।

राणाको भनाइ थियो, ‘म पनि कुनै समय तल्ला अदालतमा थिएँ । मलाई उछिनेर पनि थुप्रै न्यायाधीशलाई माथिल्ला पदमा नियुक्ति दिइएकै थियो । त्यतिखेर म कसैकहाँ केही भन्न गइनँ । अहिले तपाईँहरुलाई कसका बारेमा पीर पर्यो र अहिलेदेखि नै दौडधूप गर्न आउनुभयो ?’

जुन न्यायाधीशको सिफारिस बोकेर यी वरिष्ठहरु प्रधानन्यायाधीशकहाँ पुगेका थिए, ती लाभग्राहीहरु पक्कै पनि अरु शक्तिकेन्द्रतिर पनि धाएको हुनपर्छ भनेर लख काट्न कुनै आइतबार कुर्नुपर्दैन ।

सर्वोच्च अदालतकै वरिष्ठ न्यायाधीशहरु तल्ला अदालतका कुन न्यायाधीशलाई कहाँ सरुवा गर्ने, कुन न्यायाधीशलाई उपल्ला तहमा तान्ने र कसलाई पछि पार्ने भनेर सिफारिस गर्न जानु प्रकारान्तरले प्रधानन्यायाधीशको क्षेत्राधिकारमाथिको हस्तक्षेप पनि हो ।

अझ प्रधानन्यायाधीशको विवेकमै प्रश्न उठाउने गरी यसो गर्न हुन्छ र त्यसो गर्न हुँदैन भन्ने न्यायाधीशहरुको भित्री अभीष्ट के थियो भन्ने पनि प्रस्ट हुन्छ ।

नेपालको न्यायपालिका विगतदेखि नै गुटबन्दीको शिकार बन्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुमा पहिला साम्प्रदायिक गुट हुन्थ्यो भने अहिले करिब करिब राजनीतिक प्रकृतिका गुट समेत बनिसकेका छन् । हुँदाहुँदा सर्वोच्चमा मात्र गुटबन्दी गरेर पुगेन । अब तल्ला अदालतदेखि माथिसम्मै गुटको लहरो फैलिन लागेको यसबाट प्रस्ट हुन्छ ।

त्यसो भने प्रधानन्यायाधीश राणाले अहिले तल्ला तहका अदालतलाई प्रत्यक्ष भेट्न छाडेका छन् । प्रधानन्यायाधीशकहाँ गएर एकले अर्काविरुद्ध कुरा लगाउने, आफ्ना निजी स्वार्थका कुरा बढी गर्ने र अनावश्यक चाकडी बजाउने विकृत अभ्यास न्यायपालिकामा छ ।

यो शृंखला तोड्न हालका प्रधानन्यायाधीशश राणा प्रयासरत देखिन्छन् । यही कारण अहिले प्रधानन्यायाधीशकहाँ न्यायाधीशको लर्को लाग्न छाडेको छ ।

विगतमा कोही पशुपति र मुक्तिनाथको प्रसाद चढाउन आएको भन्ने त कोही अन्य बहाना बनाएर प्रधानन्यायाधीकहाँ छिर्ने प्रचलन थियो ।

यसले प्रधानन्यायाधीशसँग निकट भइन्छ, राम्रो ठाउँमा सरुवा पाइन्छ र उस्तै परे मुद्दा पनि ‘राम्रै’ पाइन्छ भन्ने सोच न्यायिक वृत्तमा देखिन्छ ।

यसमा क्रमभंगता आवश्यक छ । प्रधानन्यायाधीश राणा कम्तीमा आफ्नो कार्यकालमा यो अडानमा कायम रहेमा न्यायिक क्षेत्रको चाप्लुसीतन्त्र धेरै हदसम्म छिनालिनेछ ।