नेपाललाई यूएईले दियो ८४ रनको लक्ष्य

आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईले नेपालाई ८४ रनको लक्ष्य दिएको छ। युएईको अजमानस्थित द सेभेन रंगशालामा युएईले टस जितेर पहिला ब्याटिङ गरेको थियो। युएईले २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सक्यो।

समाइरा धार्निधार्काले बनाएको ३१ रन नै युएईका लागि सर्वाधिक रह्यो। रिनिथा रजिथले २० रन थपिन्। लावन्या केनी र इन्दुजा नन्दकुमारले समान १० रन बनाए। चार ब्याटर शून्य रनमा नै पेभेलियन फर्किए।

नेपालका लागि कृष्मा गुरुङले ४ विकेट लिईन्। उनले आफ्नो स्पेलमा १७ रन दिईन्। रिया शर्मा र सिमा केसीले समान २ विकेट झारे। रचना कुमारी चौधरीले एक विकेट आफ्नो नाममा गरिन्। 

यही कात्तिक २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल र युएईबीचको यो अन्तिम खेल हो। एसिया छनोटअन्तर्गत नेपालले यसअघि ५ खेल खेलिसकेको छ। नेपाल ४ खेलमा जित तथा एउटामा हारकासाथ तालिकामा दोस्रो स्थानमा छ। 

पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो। यस्तै, दोस्रोमा नेपालले कुवेतलाई १ सय ८ रनले हराएको थियो। तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो।

नेपालले चौथो खेलमा आइतबार थाइल्याण्डलाई १ सय ६ रनले पराजित गरेको थियो। मंगलबार भएको पाँचौँ खेलमा नेपालले कुवेतलाई १ सय ६५ रनको फराकिलो अन्तरले हराएको थियो। प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। नेपालले यु-१९ विश्वकपमा छनोट हुनका लागि आजको खेलमा युएईलाई जित्नै पर्ने हुन्छ। साथै, रनरेटमा पनि युएईलाई पछाडि पार्नुपर्छ।