फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले बनाएका यी रेकर्ड

 चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ब्लकबस्टर हुँदा नेपाली चलचित्र उद्योगमा थुप्रै रेकर्ड बनेका छन् । एकै दिन सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्रको रेकर्ड यो चलचित्रको नाममा आएको छ ।

शनिबार तीन करोड ८९ लाख ग्रसकलेक्सन गर्दा चलचित्र ‘कबड्डी’ले बनाएको रेकर्ड ब्रेक गर्यो । ‘कबड्डी’ले पहिलो दिन २ करोड ९० लाख ग्रसकलेक्सन गरेको थियो । ‘भष्मे डन’ले पहिलो दिन दुई करोड २५ लाख कलेक्सन गरेको थियो ।

‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो रेकर्डले नै ‘कबड्डी’को रेर्डक ब्रेक गरेको हो । शुक्रबार यो चलचित्रले २ करोड ९९ लाख ग्रसकलेक्सन गरेको थियो ।

‘पूर्ण बहादुरको सारङ््गी’ले अर्को पनि रेकर्ड बनाएको छ, त्यो हो शो । ‘पूर्ण बहादुरको सारङ््गी’ सबैभन्दा धेरै शो पाउने चलचित्र बनेको छ । यसले एकै दिन ९८ हलमा ४६५ शो पाएको छ । यो एकै दिन कुनै चलचित्रले पाएको सबैभन्दा धेरै शो हो ।

यसअघि चलचित्र ‘बेहुली फ्रम मेघौली’ले ३४० शो एकै दिन पाएको थियो । त्यसलाई ‘पूर्ण बहादुरको सारङ्गीले’ ब्रेक गरेको हो ।यो चलचित्रका नाममा अर्को रेकर्ड पनि बन्ने सम्भावना छ, लाइफटाइम सबैभन्दा धेरै शो पाउने चलचित्र बन्ने अहिलेसम्मको शो र त्यसमा देखिएको अकुपेन्सीले संकेत गरेको छ ।

थोरै समयमा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्र पनि यही हो । ‘पूर्ण बहादुरको सारङ्गी’ले १० दिनमा १७ करोड ९८ लाख ग्रसकलेक्सन गरेको छ । यति कलेक्सन यसअघिका कुनै चलचित्रले पनि गरेका छैनन् ।

अहिलेसम्म छोटो समयमा गरेको धेरै कलेक्सन, अहिले पाइरहेको शो र यसमा देखिएको अकुपेन्सीले हालसम्मकै नेपालमा धेरै ग्रसकलेक्सन गर्ने चलचित्र हुनसक्छ । यो सम्भावना देखिएको छ । धेरै निर्माता तथा निर्देशकले कम्तीमा ३० लाख कलेक्सन ‘पूर्ण बहादुरको सारङ्गी’ले गर्ने बताइरहेका छन् ।

बिहान ४ : ४५ देखि राति ११ : ४५ बजेसम्म शो पाउने र हाउसफूल हुने सिनेमाको रेकर्ड पनि यो सिनेमाको नाममा आएको छ । प्रायः नेपाली चलचित्रकाे अबेर राति र बिहान ६ बजे अगाडि हुँदैनन् ।

सानो लगानीमा बनेर छोटो समयमा धेरै कलेक्सन गर्ने चलचित्र पनि यही बनेको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ १ करोड ३० लाखमा बनेको चलचित्र हो । यसअघि रेकर्ड बनाउने ‘कबड्डी’ र ‘भष्मे डन’ दुवै ठूलो बजेटमा बनेका चलचित्र हुन् ।

‘कबड्डी’ र ‘भष्मे डन’ दुवै स्टारडम भएका कलाकार रहेका चलचित्र थिए । तर ‘पूर्ण बहादुरको सारङ्गी’ स्टारडाम नभएका भनिएका कलाकार रहेर पनि रेकर्ड ब्रेक गर्ने चलचित्र बनेको छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ विदेशमा सबैभन्दा धेरै कमाउने चलचित्र बन्ने सम्भावना पनि उत्तिकै रहेको छ । विदेशका अधिकांश शो अगाडि नै बुक कुनु, शो थपिनु र शो थप्न दर्शकको उच्च माग हुनुले यो विदेशमा पनि धेरै कमाउने चलचित्र बन्ने सम्भावना रहेको छ ।

अमेरिका, अष्ट्रेलियालगायत देशमा रेकर्ड ब्रेक शो पाउनुले यो सम्भावनालाई बलियो बनाएको छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ले बनाएका यी रेकर्ड तोड्न असम्भव त छैन । तर सहज पनि छैन । त्यसैले यी रेकडै तोड्ने सिनेमा तत्काल आउला वा समय लाग्ला त्यो भने प्रतिक्षाकै विषय हो ।

सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।

कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।