अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं, २६ कात्तिक : वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पर्टेवा सुगौली गाउँपालिका-२ रंगपुर टाडी घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानी बस्ने ३४ वर्षीय सुदिपचन्द्र बख्रेल र ललितपुर महानगरपालिका-२ सानेपा बस्ने ३३ वर्षीय सुरज खनाल रहेका छन् ।

उनीहरूले अष्ट्रेलिया पठाइदिन्छु भन्दै पीडितहरूबाट नगद १२ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१ नक्साल गैह्रीधाराबाट पक्राउ गरेको हो । साथै पक्राउ परेका दुवै जना बैंकिङ कसूर एवम्अ पराधिक लाभ मुद्दामा समेत संलग्न रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।


उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । यसैगरी वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३ पानीपोखरी बस्ने ३१ वर्षीय गणेश गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । गुरूङले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ४ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट
खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३ पानीपोखरीबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।