हिजबुल्लाहले आक्रमण गर्ने डर, नेतान्याहुले स्थगित गरे छोराको बिहे

 इजरायल र इरानबिच भीषण युद्ध चलिरहेको छ । इजरायलले इरान समर्थित सङ्गठन हिजबुल्लाहलाई लक्षित गरी लगातार बमबारी गरिरहेको छ । तर, हिजबुल्लाहले पनि पछि हटेको छैन । 

इजरायललाई चुनौती दिँदै कडा आक्रमण गरिरहेको छ । यसैबिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह र इरानी आक्रमणको डरले छोराको विवाह स्थगित गरेको बताइएको छ ।

इजरायली मिडियाका अनुसार अव्नेर नेतान्याहुको विवाह नोभेम्बर २६ मा उत्तरी तेल अवीवको एउटा क्षेत्रमा हुने तय भएको थियो । तर नेतान्याहुले आफ्ना सहयोगीहरूलाई इजरायलद्वारा छेडिएको बहुपक्षीय युद्ध र विशेष गरी उत्तरबाट ड्रोनको खतराका कारण विवाहको आयोजना जोखिमपूर्ण हुन सक्ने बताएका छन् । 

हिजबुल्लाह प्रमुख नइम कासिमले आफूहरू महिनौँसम्म लड्न सक्ने भएपनि आफूहरू युद्धविरामका लागि तयार रहेको बताएका छन् । बुधबार आतंकवादी संगठनको नेताको रूपमा आफ्नो पहिलो टेलिभिजन भाषणको क्रममा आफूले आतंकवादी संगठनका पूर्वनेता हसन नसरल्लाहको पाइला पछ्याउन चाहेको उनले बताए । भाषणका क्रममा उनले कैसरियामा रहेको नेतन्याहुको घरमा भएको ड्रोन आक्रमणको उल्लेख गरेका थिए । उनलाई उद्धृत गर्दै र जेरुसेलम पोस्टले भनेको थियो, ‘नेतन्याहु यस पटक त बाँचे, सायद उनको समय अझै आएको छैन ।’

यही महिनाको सुरुमा नेतन्याहुको घरलाई हिजबुल्लाह ड्रोन आक्रमणमा निशाना बनाएका थिए । यस आक्रमणमा घरको सुत्ने कोठाको झ्यालमा क्षति पुगेको थियो । यी आक्रमणलाई नेतान्याहुले इरानका एजेन्टहरूलाई दोष दिएका थिए । यसलाई उनले आफू र आफ्नी श्रीमतीको हत्या गर्ने प्रयास भनेका थिए । त्यति बेला समयमा गरेका कठोर गल्तीका लागि उनीहरू मूल्य चुकाउने चेतावनी पनि उनले दिएका थिए ।