झापामा गोरुले हान्दा एक जनाको मृत्यु

 झापाको गौरादह नगरपालिका-७ जामबारीमा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । आफ्नै घरमा पालेको गोरुले हान्दा गौरादह -७ का ४८ वर्षीय कृष्ण शर्माको मृत्यु भएको हो । साथै गोरुले हानेर अर्का एक जना घाइते भएका छन् ।

बुधबार साँझ बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा उक्त गोरुले हानेर शर्मा घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक लगिएको थियो । ढाडको ७ वटा करङ भाँचिएका शर्मालाई थप उपचारका लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएको थियो । उहाँको उपचारकै क्रममा बिहीबार अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही गोरुलाई समाउने क्रममा छिमेकी अन्दाजी ४५ वर्षीय रविन राजवंशी गम्भीर घाइते हुनुभएको छ । टाउकोमा चोट लगेका राजवंशीको नोबेल अस्पताल विराटनगर उपचार भइरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।