अभिनेत्री मनिषा कोइरालाले विवाह गर्नुको जिम्मेवारी आफै लिने कुरा किन उठाइन ?

अभिनेत्री मनिषा कोइरालालाई नचिन्ने दर्शक कमै होलान् । नेपालमै बनेको मेघा उलको विज्ञापनबाट क्यामरा फेस गरेकी अभिनेत्री मनिषा कोइरालाले बलिउडमा पुगेर आफूलाई लोकप्रिय अभिनेत्री बनाउन सफल भइन् ।

कलिउडको ‘फेरी भेटौँला’ फिल्मबाट अभिनय क्षेत्रमा प्रवेश गरेकी मनिषाले सन् ९०को दशकमा बलिउडमा नम्बर वान अभिनेत्रीको ट्याग पाएकी थिइन् । फिल्म ‘सौदागर’ उनको बलिउड फिल्मको यात्राको औपचारिक थालनी भएको थियो । त्यसपछि उनले एकपछि अर्को गर्दै उत्कृष्ट फिल्महरुमा अभिनय गरेर बलिउडकै नम्बर एक अभिनेत्रीको छवि समेत बनाइन् ।

यद्यपि, त्यसपछि उनी आफ्ना व्यक्तिगत काममा व्यस्त भइन् भने स्वास्थ्यमा आएको जटिलताले पनि उनको अभिनय यात्रा रोकियो । यद्यपि, क्यान्सर जस्तो घातक रोगमाथि विजय पाउँदै उनले अभिनयको दोस्रो इनिङ थालिन्, बेव सीरीज ‘हीरामण्डी’ मार्फत । यो सीरीजबाट उनले पुनः आफ्नो पुरानै छवि फर्काउन सफल भइन् । यतिबेला उनी नेपालमा मात्र होइन, भारतमा समेत सञ्चारकर्मीहरुलाई अन्तर्वार्ताका लागि समय दिन नभ्याउने अभिनेत्रीको रुपमा चिनिन थालेकी छिन् । वास्तवमा यो उनको सफलताकै एउटा परिणाम हो ।

‘हिरामण्डी’ बाट पाएको ख्यातिकै कारण उनले विभिन्न प्रतिष्ठित सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिइरहेकी छिन् । यसैबीच, आफ्नो एउटा पछिललो अन्तर्वार्ताको क्रममा मनिषाले आफ्ना केही नीति जीवनका बारेमा पनि कुराकानी गरेकी छिन् । यहि क्रममा मनिषाले आफ्नो वैवाहिक जीवनको बारेमा पनि कुरा गरेकी छिन् ।मनिषाले सन् २०१० मा व्यवसायी सम्राट दाहलसंग विवाह गरेकी थिइन् । मनिषा भन्छिन् – ‘विवाहलाई लिएर मेरो एउटा सपना थियो । तर यदि तपाईँ कुनै नराम्रो सम्बन्धमा हुनु हुन्छ भने अलग हुनु राम्रो हुन्छ । यो सम्बन्धमा कुनै तीतो हुनु हुन्न । म मेरो विवाह हतारमा गरेको कुरामा सम्पूर्ण जिम्मेवारी आफैँ लिन्छु ।’

मनिषाले आफूले हतारमा गरेको निर्णयको महसुस अहिले भएको बताएकी हुन् । त्यसो त मनिषाले सम्राटलाई फेसबुकबाट चिनेकी थिइन् । चिनजान भएको केहि समयमा नै दुवैले विवाह गर्ने निर्णय गरेका थिए ।

उनीहरुको विवाह हतारमा भएको थियो, त्यसैले हतारमा भएको विवाह लामो समयसम्म टिक्न सकेन । विवाहको दुई वर्षमा नै सम्राट र मनिषा अलग भए । त्यहि वर्ष मनिषाले क्यान्सर जस्तो घातक रोगको सामना गर्नु पर्यो । उपचारका लागि मनिषा अमेरिका गएकी थिइन्, जहाँ उनले क्यान्सरमाथि विजय प्राप्त गरिन् । मनिषालाई क्यान्सरबाट मुक्त हुन तीन वर्षको समय लागेको थियो ।