नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको छ : अभिनेता नवाजुद्दिन सिद्धिकी

भारतीय अभिनेता नवाजुद्दिन सिद्धिकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको बताएका छन्। 

सोमबार काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली चलचित्र शाम्बाला हेरेपछि आफूले चलचित्रका लागि नेपालमा अब नयाँ माहोल बनेको पाएको बताएका हुन्।
 
उनले निर्देशक मिनबहादुर भामले चलचित्रलाई उत्कृष्ट बनाएको आफूले पाएको पनि सुनाएँ। देशमा एकपटक मात्रै चलचित्र क्षेत्रको माहोल बनाउने कलाकार, निर्देशकहरु आउने भन्दै त्यो माहोल चलचित्र शाम्बलासँगै बनेको दाबी गरे।

‘एउटा देशमा एकपटक मात्रै त्यस्तो मानिस आउँछन् जसले त्यो बेलामा सिनेमा वा अरु कुनैपनि चिजलाई माथिल्लो स्तरमा लैजान्छन्। त्यसले एउटा माहोल बन्छ। अब नेपालमा पनि त्यस्ता निर्देशक, कलाकारहरु आउँछन्,’ उनले भने, ‘जो अहिले नेपालमा देखिएका छन्। अब नेपाली सिनेमा क्षेत्रको माहोल अझै बढ्नेछ। उनीहरुले नै नेपालको सिनेमा क्षेत्रलाई अघि बढाउनेछन्।’