नेपाल आएका भारतीय अभिनेता नवाजुद्दिनलाई ‘साम्बाला’ले लोभ्यायाे

मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ हेर्न नेपाल आएका भारतीय कलाकार नवाजुद्दिन सिद्दिकीले निर्देशक भामसँग अन्तर्क्रिया गरेका छन् । सोमबार मण्डला थ्रेटरमा यी दुईबीच अन्तर्क्रिया कार्यक्रम भएको हो ।

ठमेलस्थित छायाँ सेन्टरमा आइतबार भएको प्रिमियर सो हेर्न उनीहरू नेपाल आएका हुन् । कलाकार सिद्दिकीले आफू नेपाल पहिलोपटक आएको बताउँदै साम्बाला फिल्म हेर्ने लोभले नै नेपाल आउन आकर्षित गरेको बताए ।

चलचित्र ‘साम्बाला’ जर्मनीस्थित बर्लिनको ७४औँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोटमा परेको थियो । साढे दुई घण्टा अवधिको चलचित्रमा तिब्बतीय जनजीवन समेटिएको छ । बहुपती विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रा चलचित्रमा प्रस्तुत गरिएको छ । साम्बालामा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्य लगायतको अभिनय रहेको छ ।