स्त्री–२ ले बनायो नयाँ रेकर्ड, बाहुबली–२ र पठानलाई उछिन्याे

 बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म ‘स्त्री –२ः सरकते का आतङ्क’को बक्स अफिसमा जगजगी सकिएको छैन ।

१५ अगस्टमा रिलिज हुँदा नै फिल्मको ओपनिङ धमाकेदार थियो । फिल्मले दर्शकहरूबाट अझै पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । रिलिज भएको झन्डै एक महिना हुन लाग्दा पनि बक्स अफिसमा ‘स्त्री–२’ को पकड कायमै छ ।

अमर कौशिक निर्देशनमा बनेको यस फिल्मले आइतबार बक्स अफिसमा ‘बाहुबली–२’को हिन्दी भाषामा कमाइको कीर्तिमान तोडेको थियो । सोमबार फिल्मले नयाँ रेकर्ड बनाएको छ । ‘स्त्री–२’ले शाहरुख खानको ‘पठान’लाई पनि उछिनेको छ ।

स्याकनिल्कको रिपोर्ट अनुसार, ‘स्त्री २’ले देशभरबाट ५१६ करोड २५ लाख भारु कमाई गरेको छ । आइतबार अर्को १० करोड कलेक्सन गरेसँगै फिल्मको कुल कलेक्सन ५२७ करोड भारु पुगेको छ । यो कलेक्सन शाहरुख खान र दीपिका पादुकोणको पठानको भन्दा बढी हो । पठानले ५२४ करोड ५३ लाख भारु कमाएको थियो ।

बक्स अफिसमा ‘स्त्री–२’ लाई प्रतिस्पर्धा दिन सक्ने फिल्म आएका छैनन् । अक्षय कुमारको ‘खेल खेल में’ ‘स्त्री२’ सँगै रिलिज भएको थियो । अक्षय कुमार, तापसी पन्नु, वाणी कपुरलगायत धेरै कलाकारहरूको अभिनय रहेको यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो । जोन अब्राहम र शर्वरी बाघको फिल्म ‘वेद’ पनि बक्स अफिसमा असफल भयो ।