रजनीकान्तको फिल्म ‘जेलर’ मा खलनायकको भूमिका निभाएका मलयालम अभिनेता विनायकन किन पक्राउ परे

 दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ मा खलनायकको भूमिका निभाएर चर्चामा आएका मलयालम अभिनेता विनायकन पक्राउ परेका छन् । हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि विमानस्थलमा हङ्गामा मच्चाएको र इन्डिगोका गेटमा बस्ने कर्मचारीसँग दुर्व्यवहार गरेको आरोप छ । अभिनेताले रक्सी पिएर सार्वजनिक स्थानमा अनियन्त्रित बनेर व्यवहार गरेको बताइएको छ ।

अभिनेता विनायकन कोच्चिबाट हैदराबाद पुगेका थिए । उनी त्यहाँबाट गोवा जाँदै थिए । उनको एउटा भिडियो पनि सार्वजनिक भएको छ, जसमा उनी सर्ट फुकालेर विमानस्थलको भुईँमा बसी कर्मचारीलाई कराइरहेको देखिन्छन् ।

घटनापछि विमानस्थलमा उपस्थित सिआइएसएफ सुरक्षा टोलीले विनायकनलाई नियन्त्रणमा लिएर स्थानीय विमानस्थल प्रहरीलाई बुझाएका थिए । यो मामिलामा उजुरी गरेर छानबिन चलिरहेको बताइएको छ ।

यस्तो हर्कत गरेको भन्दै विनायकन समातिएको यो पहिलो पटक होइन । यसअघि सन् २०२३ को अक्टोबरमा केरलाको एर्नाकुलमको एउटा प्रहरी चौकीमा अराजकता फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

त्यसपछि पनि अभिनेतामाथि उनी बस्दै आएको अपार्टमेन्ट कम्प्लेक्समा अशान्ति मच्चाएको आरोप लागेको थियो । यस विषयमा उनीसँग सोधपुछ गरिएको थियो । तर, पछि उनलाई धरौटीमा रिहा गरियो ।

सुपरस्टार रजनीकान्तको गतवर्ष रिलिज भएको ब्लकबस्टर फिल्म ‘जेलर’ मा विनायकन खलनायकको भूमिकामा देखिएका थिए । उनी तस्करको भूमिकामा देखिएका थिए ।

सन् १९९५ मा ‘मन्त्रिकम’ अभिनय यात्रा सुरु गरेका विनायकन ‘कम्मतीपदम’ लगायत अन्य कयौँ फिल्ममा देखिएका छन् ।