कंगनाकाे फिल्म ‘इमर्जेन्सी’ रिलिज हुने वा नहुने बारे आज टुंगो लाग्ने

कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’ लगातार चर्चामा छ। जसका कारण फिल्मको प्रदर्शन मिति पनि पोस्टपोन्ड गरिएको छ।

किनकि फिल्मको चर्को विरोधलाई ध्यानमा राख्दै भारतको सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन (सीबीएफसी) ले यसलाई प्रमाणपत्र दिएको छैन।

अब यो फिल्म यही सेप्टेम्बर ६ मा रिलिज हुने वा नहुने आज (बुधबार) टुंगो लाग्नेछ।सेन्सर प्रमाणपत्रको माग गर्दै फिल्म निर्माता जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज बम्बई उच्च अदालत पुगेको हो। फिल्ममा कंगनाले भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छन्।यो फिल्मको विरोधमा पन्जाबमा प्रदर्शन भइरहेको छ। 

शिरोमणि अकाली दललगायत सिख संगठनले फिल्म निर्माताले सिख समुदायको भावनामा चोट पुर्‍याएको र गलत रूपमा प्रस्तुत गरेको आरोप लगाएका छन्। आफूसँग सम्बन्धित घटनालाई विकृत गरिएको शिख समुदायको आरोप छ।

निर्माण टिमद्वारा दायर निवेदनमा सीबीएफसीले गैरकानुनी र मनमानी रूपमा प्रमाणीकरण रोकेको दाबी गरिएको छ।कंगनाले बाेर्डले सेन्सर सर्टिफिकेट तयार पारिसकेको तर रोकेर राखेको दाबी गरेकी छन्।मेरो फिल्म ‘इमर्जेन्सी’ले सर्टिफिकेट पाएको छैन, हत्याको धम्की आइरहेको छ ।

न्यायाधीश बीपी कोलाबावाला र फिरदोश पुनिवालाको इजलासले फिल्म निर्माण पक्षको निवेदन तत्काल सुनुवाइ गर्ने जिम्मेवारी लिएको छ।यो फिल्म २५ जुन १९७५ देखि २१ मार्च १९७७ सम्म मुलुकमा लगाइएको २१ महिनाको संकटकालको कथामा आधारित छ।

कंगना यस फिल्मका निर्देशक र निर्माता पनि हुन्।