आफ्नो फिल्म प्रमोसन गर्न दीपकराजले राखेको फेसबुक स्टाटसमा ‘१२ गाउँ’ र 'ज्वाइँ साब'का कमेन्ट
‘हाम्रो ध्यान कहाँ छ, असोज २४ तिर मात्रै।’
फिल्म निर्माता तथा कलाकार दीपकराज गिरीले बुधवार दीपाश्री निरौलासँगको तस्बिर राख्दै फेसबुकमा लेखे ‘हाम्रो ध्यान कहाँ छ, असोज २४ तिर मात्रै।’
असोज २४, अर्थात् उनीसहितको समूहले निर्माण गरेको फिल्म छक्कापञ्जा ५ को रिलिज मिति। रिलिज हुनुभन्दा अगाडि नै छक्कापञ्जा समूहका पूर्व सदस्य जितु नेपालको अभिनय रहेको ‘ज्वाइँ साब’ फिल्म पनि त्यही मितिमा रिलिज हुने भएपछि यो समूहमा बढेको छटपटी सामाजिक सञ्जालमै पोखिएको थियो।
त्यसमा थपिन आइपुग्यो बिराज भट्ट र उनको छोराको अभिनय रहेको एक्सन प्रधान फिल्म ‘१२ गाउँ’। यो पनि उहीँ असोज २४ मै रिलिज हुँदैछ।
नेपाली फिल्महरू प्राय हरेक साताको शुक्रवार रिलिज हुने गरेका छन्। एउटा फिल्म रिलिज हुँदा त दर्शकलाई हलसम्म ल्याउन हम्मे हम्मे परिरहेको बेलामा एकै पटक दुई कमेडी जनराको अनि अर्को एक्सन प्रधान फिल्म रिलिज हुँदा दर्शक बाँडिने पक्का छ।
यस अगाडि कसैले फिल्म जुधाउन ल्याए अनेक गरेर भए पनि पन्छाउन दीपकराज समूह सफल भएका थिए। कतिपयले त फिल्म जुधाउन आउनेलाई राम्रै आर्थिक नजराना दिन पनि यो समूह पछि पर्दैनसम्म भन्छन्। तर यो पुष्टि भएको विषय भने हैन।
तर यस पटक भने दीपक समूहलाई अलि अप्ठ्यारै पर्ने देखिन्छ। त्यसको सङ्केत उहीँ दीपकको असोज २४ मा नजरवाला फेसबुक स्टाटसमुनीका प्रतिक्रियाले पनि देखाउँछ।
केहीले उनलाई शुभकामना पनि दिएका छन्। तर अधिकांशले ‘असोज २४, १२ गाउँ हेर्ने दिन’ भन्दै उल्टो उनको प्रतिस्पर्धी फिल्मको प्रचार गरिरहेका छन्। कतिपयले ‘ज्वाइँ साब’ फिल्मको पनि प्रचार गरेका छन् कमेन्टमा।
उनको समूहको फिल्मबारे सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दा डाइरेक्ट मेसेज (डिएम) मा आएर विवाद गरेका पुराना स्क्रिनसटहरु बाहिरिने गरेको थियो। अहिले भटाभट आफ्नै स्टाटसको कमेन्ट बक्समा आएर ‘१२ गाउँ’ अनि ‘ज्वाइँ साब’ को प्रमोसन गरिरहेकाहरूलाई उनले डिएम गरिसके या उनी सुध्रिए सार्वजनिक भएको छैन।
तर फिल्म प्रचारको माहौल, प्रमोसन गीतको कुमार हैन, कुमारी हैन बोलबाट भएको ब्याकफायर लगायतका घटनाक्रमले यो पटक दीपक-दीपाका लागि छक्कापञ्जाको ब्रान्ड जोगाउन गाह्रो बन्दै गएको भने देखिन्छ।
प्रतिक्रिया