फिल्म नरसिंहाबाट नायक राजेश हमालले आठ वर्षपछि कमब्याक गर्दै
काठमाडौँ, २५ साउन : दिवाकर भट्टराईको निर्देशनमा ‘नरसिंहा’ फिल्म निर्माण हुने भएको छ । निर्माण पक्षले फिल्मको घोषणासँगै बिहीबार थिम पोस्टरसमेत सार्वजनिक गरेको छ ।
रातो र नीलो रङ प्रयोग गरिएको पोस्टरले युद्धको संकेत गरेको छ । पोस्टरमा बायाँतर्फ रातो (आगो) र दायाँतर्फ नीलो (समुद्र) छ । यसले फिल्मको कथा युद्ध र शान्तिको विषयमा रहेको जनाएको छ ।
साथै पोस्टरमा नरसिंहाको उग्र अवतार छ । नरसिंहा भगवान् विष्णुको उग्र अवतार हो । यो दस अवतारमध्ये चौथो हो । नरसिंहा अवतारमा उनले आधा पुरुषको र आधा सिंहको शरीर धारण गरेका थिए ।
फिल्मबाट नायक राजेश हमालले आठ वर्षपछि कमब्याक गर्दै छन् । महानायक हमाल लामो समयको ब्रेकपछि फिचर फिल्ममा अभिनय गर्ने निर्णयमा पुगेका हुन् । फिल्मका लागि आइतबार हमालले निर्माण पक्षसँग सम्झौता पनि गरिसकेका छन् । लामो समयको अन्तरालपछि हमाल दिवाकरको फिल्मबाट दर्शकमाझ फर्किन लागेका हुन् ।
फिल्म क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा बन्न लागेको हो । निर्माण पक्षले फिल्मको कथा र अन्य कलाकारबारे भने केही खुलाएको छैन । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ । भट्टराईले निर्देशन गरेको फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।
प्रतिक्रिया