अजय देवगनकाे बहुप्रतिक्षित फिल्म ‘अरों मे कहाँ दम था’ काे बक्स अफिसमा कमजोर सुरुवात
अजय देवगन र तब्बुको बहुप्रतिक्षित फिल्म ‘अरों मे कहाँ दम था’ शुक्रबार अगस्ट २ मा हलमा रिलिज भएको छ ।
चलचित्रलाई लिएर लामो समयदेखि हल्ला चलिरहेको थियो । तर, बक्स अफिसमा यसको सुरुवात निकै कमजोर रह्यो ।अजय र तब्बुको जोडी दर्शकमाझ निकै लोकप्रिय छ र दर्शकले यो जोडीलाई हेर्न मन पराउँछन् तर यसपटक उनीहरुको जादू चल्न नसकेको देखिन्छ । फिल्मले पहिलो दिनको कमाईको तथ्यांक सार्वजनिक गरेको छ । बजेट हेर्दा त्यसको सङ्कलन निकै कम थियो । रिपोर्टका अनुसार फिल्मले पहिलो दिन बक्स अफिसमा २ करोड मात्रै कमाएको छ ।
फिल्मको बजेट करिब १०० करोड रहेको बताइएको छ । फिल्मले करिब ५–६ करोडको ओपनिङ पाउनु पर्ने विज्ञहरुको विश्वास छ । यसका बाबजुद पनि शनिबार र आइतबार कारोबारमा सुधार आउने अपेक्षा गरिएको छ । अब यो सुधार कति हुन्छ भन्न नसकिने तर पहिलो साताको अन्त्यमा फिल्मले बक्स अफिसमा ६ करोडसम्मको व्यापार गर्न सफल हुने अनुमान गरिएको छ ।
यस परिप्रेक्ष्यमा हेर्ने हो भने अजय देवगनको ‘अरों मे कहाँ दम’ यस वर्षको पहिलो ठूलो असफल फिल्म हुनेछ, किनकि यस वर्षका अजयका दुई अघिल्लो फिल्मले यो भन्दा पहिलो दिन धेरै राम्रो व्यापार गरेका थिए । अजयको माधवनसँगको फिल्म ‘शैतान’ ले निकै राम्रो प्रतिक्रिया पाएको छ । यसले उद्घाटन दिनमा १४.७५ करोड रुपैयाँ सङ्कलन गरेको थियो। फिल्मले समग्रमा २०० करोडभन्दा बढी कमाइ गरेको थियो ।
यसपछि फुटबलमा आधारित अजयको फिल्म ‘मैदान’ले पहिलो दिन साढे चार करोड कमाएको थियो । तर, पछि फिल्म रोकियो । ‘और मे कहाँ दम था’लाई निरज पाण्डेले निर्देशन गरेका हुन् । यसमा जिमी शेरगिल, साई मांजरेकर, शान्तनु महेश्वरी जस्ता स्टारले पनि काम गरेका छन् ।
प्रतिक्रिया