चलचित्र ‘मोदीबेनी’का कलाकारले गरे बागमती नदीमा र्‍याफ्टिङ

चलचित्र ‘मोदीबेनी’का कलाकारले गरे बागमती नदीमा र्‍याफ्टिङ गरेका छन् । साउन १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले बागमती नदिमा र्‍याफ्टिङको शुभारम्भ गरेका छन् ।

नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब र बागमती सफाइ महाअभियानको सहकार्यमा बागमती नदी महोत्सव महाजल जात्रा अन्तर्गत शनिवार र्‍याफ्टिङको शुभारम्भ भएको हो ।थापाथली पुलबाट चोभारसम्म वर्षा र अमरले र्‍याफ्टिङ गरेका थिए । अभिनेत्री वर्षा सिवाकोटीले नदी संरक्षणमा राज्यको दायित्व हुनुपर्ने बताइन् ।

अभिनेता अमरप्रताप श्रेष्ठले यो अभियानलाई सबैले मिलेर सफल बनाउन पर्ने र काठमाडौंमा नै र्‍याफ्टिङको मज्जा लिन पाउँदा आन्तरिकसँगै विदेशी पर्यटकको लागि पनि आकर्षण हुन सक्ने बताए ।शंकर कोइरालाले निर्देशन गरेको यस चलचित्रमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराईलगायत कलाकार छन् ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन् । चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् ।