ट्राफिक प्रहरीले सवारीसाधन चलाउने ४ जना यान्त्रिक अवस्था ठीक नराखी सवारीसाधन चलाउने ३५ जना चालकहरूलाई कारबाही

ट्राफिक प्रहरीले लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने ४ जना र यान्त्रिक अवस्था ठीक नराखी सवारीसाधन चलाउने ३१ जना गरी ३५ जना चालकहरूलाई कारबाही गरेको छ ।

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका ४ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरी टोलीले भक्तपुरको जगातीबाट नियन्त्रणमा लिएको छ

बा१ज ८४५७ नम्बरको माइक्रो चालक ओखलढुंगाको सुनकोशी गाउँपालिका–५ का २२ वर्षीय कृष्ण कार्की, बा५ख ९५०८ नम्बरका बस चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का ३८ वर्षीय भोपेन्द्र भण्डारी, बा५ख ४३ ०० नम्बरका बस चालक चितवनको राप्ती नगरपालिका–७ का ३१ वर्षीय रमेश विक र बा६ख ३००६ नम्बरका बस चालक धादिङको निलकण्ठ नगरपालिका–१२ का ३३ वर्षीय टिकाराम श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाब ‘ड्रग्स् किट’मा राखेर चेक गर्दा लागूपदार्थ सेवन गरेको प्रमाणित भएको थियो । प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रूपमा काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारीसाधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ ।

जगातीमा शुक्रबार २५ वटा सवारीसाधनलाई चेक गर्दा ४ वटा सवारीसाधनका चालकले लागूपदार्थ सेवन गरेको पाइएको छ । नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगाती बुझाइएको छ ।

चालकले नै लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

काठमाण्डुको सितापाइलामा शुक्रबार गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठीक नभएका सवारीसाधन चलाउने ३१ वटा सवारीसाधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ५३ वटा सवारीसाधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठीक नभएका ३१ वटा सवारीसाधन फेला परेपछि चालकलाई कारबाही गरिएको छ ।

सवारी दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्नका लागि ट्राफिक प्रहरीले काठमाण्डु उपत्यकाका विभिन्न स्थानमा लापसे, मापसे, यान्त्रिक चेकिङ लगायतका विशेष चेकिङहरू गर्दै आएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले जानकारी दिए ।