रास्वपाका महामन्त्री ढकालले अनुशासन आयोगले सोधेको स्पष्टीकरणलाइ गरे ठाडो अस्वीकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले अनुशासन आयोगले सोधेको स्पष्टीकरण ठाडो अस्वीकार गरेका छन् ।

शुक्रबार आयोगले महामन्त्री ढकाललाई पार्टीको अनुशासन भंग गरेको भन्दै स्पष्टीकरण सोधेको थियो । ढकालले देश दाैडाहा गरी तयार पारेको प्रतिवेदन सभापतिलाई बुझाउनु उचित भए पनि त्यसभित्रका बुँदाहरु मिडियामा सार्वजनिक गरेर पार्टीको सामान्य मर्यादासमेत उल्लंघन गरेको पत्रमा उल्लेख गरिएको छ ।

तर महामन्त्री ढकालले भने आफूलाई पार्टी सभापति रवि लामिछानेबाहेक अरुले स्पष्टीकरण सोध्न नपाउने भन्दै त्यो पत्र खोलेर नपढ्ने जिकिर गरेका छन । उनले आफूलाई जोकोहीले पठाएको पत्रको जवाफ नदिने अडान लिएका हुन् ।“मैले त्यो पत्र पढ्दिनँ, आइतबार कुरा गर्छु”, रास्वपाका एक नेताले भने । समिक्षा यात्रा सकेर फर्केका महामन्त्री ढकालले तयार पारेको प्रतिवेदनका कारण रास्वपाभित्र विवाद उत्पन्न भएको छ । ढकालले तत्काल सरकार छाड्नु पर्ने सुझाव दिएका छन् । तर पार्टी सभापति रवि लामिछाने तत्काल सरकार नछाड्ने मोडमा छन् । दोस्रो पटक सरकारमा सामेल भएको रास्वपाले जनताको अपेक्षा अनुसार काम गरेर देखाउन नसकेको आरोप छ ।

ढकालले तत्काल सरकार नछाडे पार्टी जोगाउन मुस्किल हुने बताएका थिए । उनले रास्वपा यहि अवस्थामा अगाडी बढे विवेकशील साझा पार्टी जस्तो बन्ने समेत बताएका थिए। पुराना दल नेकपा एमाले र माओवादी केन्द्रसँग सहकार्य गर्नुको सट्टा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)सँग सहकार्य गर्न पार्टी सभापति रवि लामिछानेलाई सुझाब दिएका थिए ।